गृहपृष्ठ परीक्षामा फेल हुनेलाई लाइसेन्स बाँड्ने यातायात प्रमुखविरुद्द विशेषमा मुद्दा
परीक्षामा फेल हुनेलाई लाइसेन्स बाँड्ने यातायात प्रमुखविरुद्द विशेषमा मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कन्चनपुरस्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ३ जनाविरुद्ध रकम लिएर परीक्षामा उपस्थित नभएकालाई सवारी चालक अनुमति पत्र बाँडेको अभियोगकमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
तत्कालीन कार्यालय प्रमुख एवं परीक्षा समितिका अध्यक्ष सिताराम खनाल, मेकानिकल इन्जिनियर एवं परीक्षा समितिका सदस्य योगेन्द्रप्रसाद गुप्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक एवं परीक्षा समितिका सदस्य बाबुकाजी गिरीले मोटरसाइकल र स्कुटरको सवारीचालक अनुमतिपत्रको लिखित परीक्षामा सहभागी भएर प्रयोगात्मक परिक्षामा असफल भएका तथा परीक्षामा अनुपस्थित भएकाहरूबाट ५ देखि १५ हजार रकम असुल गरी चालक अनुमतिपत्र दिएर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ ।
उजुरी परेपछि अनुसन्धान गर्दा मोटरसाइकल र स्कुटरको सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण र अनुपस्थित भएका ८ जना परीक्षार्थीहरूलाई पास गराई सवारी चालक अनुमतिपत्र दिएको अख्तियारको ठहर छ । ‘उनीहरुविरुद्ध गैरकानूनी लाभ पुर्याउने बदनियतले परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारले विज्ञप्तिमार्फत भनेको छ ।
प्रकाशित समय १७:०८ बजे

















