गृहपृष्ठ घरबार गुमेको पाँच वर्षपछि राहत पाउँदै सुर्खेतका बाढीपीडित
घरबार गुमेको पाँच वर्षपछि राहत पाउँदै सुर्खेतका बाढीपीडित
झन्डै पाँच वर्षपछि सुर्खेतका बाढीपीडितले राहतस्वरुप पहिलो किस्ताको एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । कर्णाली प्रदेश सरकारले पहिलो चरणमा ५१४ परिवार बाढीपीडितलाई राहत प्रदान गर्न लागेको हो । सोमबार बसेको उच्चस्तरीय बाढीपीडित समस्या समाधान समितिको बैठकले अबको एक साताभित्रै पहिलो चरणको राहतस्वरुप डेढ लाख रुपैयाँ प्रदान गर्ने तयारी गरेको समितिका सदस्य खड्क बिकले जानकारी दिए ।
२०७१ साल साउन २९ गते राति आएको बाढीबाट सुर्खेतमा एक हजारभन्दा बढी घरधुरी प्रभावित भएका थिए । बाढीबाट घरबारविहीन भएका बराहताल, पञ्चपुरी, वीरेन्द्रनगरलगायत क्षेत्रका बासिन्दा सुर्खेतका विभिन्न ठाउँमा बस्दै आएका छन् । उनीहरुको पाँच वर्ष राहतको आशमै बितेको छ ।
समितिका सदस्य खड्क बिकले जग्गा भएका र घरमात्रै बनाउनुपर्ने ५१४ घरधुरीलाई तत्काल पहिलो किस्ताबराबरको डेढ लाख रुपैयाँ बिनासर्त प्रदान गर्न लागिएको जानकारी दिए । घर निर्माणका लागि पीडितले जम्मा ३ लाख रुपैयाँ पाउनेछन् ।
जग्गासमेत नभएकाहरुको हकमा भने सरकारले जग्गा किन्ने पैसासमेत उपलब्ध गराउने तयारी गरेको उनले बताए । ५१४ घरधुरीलाई प्रदान गरिने ३ लाख रुपैयाँमध्ये दोस्रो किस्ता कार्यप्रगतिका आधारमा असार मसान्तसम्ममा प्रदान गरिने उनले जानकारी दिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अभिलेखअनुसार सुर्खेतमा ५१४ जनाले भवन निर्माणका लागि राहत रकम माग गरेका छन् भने दुई सय ९२ परिवारले आवास निर्माणका लागि जग्गा र भवन दुबैका लागि राहत रकम माग गरेका छन् ।
पुनर्बास माग गर्ने घरपरिवार सुंख्या भने न्युन छ । २३९ जना परिवारले पूर्णरुपमा क्षति भएकाले पुनर्बासको माग गरेका छन् । सुर्खेतका सात स्थानीय तहमा बसोबास गरिरहेका बाढीपीडितबारे प्रदेश सरकारले समिति गठन गरी अध्ययन गरेको थियो ।
आन्तरिक मामिला मन्त्रालयको विपद् व्यवस्थापन शाखाका अनुसार वीरेन्द्रनगर नगरपालिकामा सबैभन्दा बढी ३२२ परिवार बाढीपीडित छन् । पञ्चपुरी नगरपालिकामा २१४, बराहताल गाउँपालिकामा २५९, चौकुने गाउँपालिकामा ६, भेरीगंगा नगरपालिकामा १९८ र लेकबेँसी नगरपालिकामा १२ घरपरिवार बाढीबाट प्रभावित छन् ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट सिफारिस भएका ९७० परिवार थिए । प्रदेश सरकारद्वारा गठित समितिको अध्ययन प्रतिवेदनमा भने बाढीपीडितको संख्या बढेको छ । उच्च स्तरीय बाढीपीडित समस्या समाधान समितिले १०४५ बाढीपीडित रहेको तथ्यांक सार्वजनिक गरेको छ ।
चैत २७ गते बसेको कर्णाली सरकारको ४०औं मन्त्रिपरिषद बैठकले सुर्खेतका बाढीपीडितहरुलाई प्रतिपरिवार ३ लाखका दरले राहत प्रदान गर्ने निर्णय गरेको थियो । त्यस्तै, वैशाख १७ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सुर्खेतमा बाढीपीडित आवास निर्माण शुभारम्भ समारोहसमेत गरिएकोे थियो ।
गत साउन ६ गते बसेको कर्णाली सरकारको मन्त्रिपरिषद बैठकले १० सदस्यीय उच्च स्तरीय बाढीपीडित समस्या समाधान समिति गठन गरेको थियो । सरकारले सुर्खेतका बाढीपीडितको पुनःस्थापनाका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा गठन गरेको समितिले काम अघि बढाएको थियो ।
समिति गठन हुँदा उत्साहपूर्वक काम अघि बढाएको र तीन महिनाभित्रै बाढीपीडितलाई पुनःस्थापना गरिसक्ने प्रतिबद्धता जनाएको भए पनि पीडितले राहत पाउन त्यसपछि पनि नौ महिना कुर्नुपरेको छ ।
प्रकाशित समय १३:०१ बजे

















