गृहपृष्ठ सुशासन समितिको निर्देशनविरुद्ध विद्यार्थी सडकमा

सुशासन समितिको निर्देशनविरुद्ध विद्यार्थी सडकमा

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गरेर रिक्त पदमा करारद्वारा पदपूर्ति गर्न निर्देशन दिएसँगै लोकसेवा तयारी गर्दै गरेको विद्यार्थी समूह सडकमै ओर्लेर विरोध जनाएको छ । बिहीबार लोकसेवा तयारी विद्यार्थी संघर्ष समितिले माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेको छ । खारेजी गर्न नहुने भन्दै सोही विज्ञापनलाई लागु गर्नुपर्ने विद्यार्थीको माग छ ।

‘सरकारले विज्ञापन खारेज गरेर करारबाट पदपूर्ति गर्न खोज्दा लोकसेवाको तयारी गरिरहेका विद्यार्थी माथि सरासर अन्याय भएको छ,’ लोकसेवाको तयारी गरिरहेकी झापाकी भगवती पोखरेलले आक्रोश पोखिन्, ‘लाखौँ विद्यार्थीले लोकसेवाको तयारी गरिरहेका छन्, उनीहरूको भविष्यमा माथि खेलवाड गर्न पाइन्न ।’ नेपालको संविधानमा चौथो तहभन्दा माथि करारबाट पद पूर्ति गर्न नपाइने व्यवस्था रहे पनि संसदीय समितिले संविधानको मर्म विपरीत गलत निर्देशन गरेको उनको ठहर छ ।

यस्तै परीक्षाको फारम भरिसकेका मनीष हुमागाईं भन्छन्, ‘सरकारले योग्य व्यक्तिभन्दा पनि आफ्ना आसेपासेहरूलाई करारको माध्यमबाट राख्ने चलखेल गरेकाले यस्ता निर्देशन आयोगले मान्न हुन्न ।’ लामो समयदेखि मेहनतसाथ तयारी गरिरहेको तर यो निर्देशनले हाम्रो मेहनतलाई बेकार बनाएको बताउँछिन् पाँचथरकी लोकसेवाको तयारी गर्दै आएकी सुनिता पहाडी ।

जेठ १५ गते लोकसेवा आयोगले स्थानीय तहमा ९ हजार १ सय ६१ पदमा विज्ञापन खुला गरेको थियो । हाल यसको विवाद उत्कर्षमा पुगेको छ । विज्ञापनमा मधेसी जनजाति तथा दलितलाई उपेक्षा गरेर ल्याइएको भन्दै सो विज्ञापन तुरुन्त सच्याइनुपर्ने माग मधेसवादीको छ भने करारमा राख्न चलखेल गरेको भन्दै सोही विज्ञापन यथावत् चलाउनुपर्ने विद्यार्थीको माग छ ।

प्रदर्शनमा विद्यार्थीले ‘संघीयता विपरीत जान पाइँदैन’, ‘योग्यता प्रणाली लागु गर’, ‘करार राख्ने निर्णय खारेज गर’, ‘लोकसेवा आयोगको विश्वसनीयता कायम गर’, ‘विज्ञापन अनुसार समयमै परीक्षा गर’ जस्ता नारा लगाएका छन् ।

प्रकाशित समय १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु