गृहपृष्ठ सुस्त श्रवण भएकी बालिकालाई भर्ना लिइएन
सुस्त श्रवण भएकी बालिकालाई भर्ना लिइएन
बढैयाताल गाउँपालिका–४ खैरेनीकी १० वर्षीया राधा पासी चाहेर पनि विद्यालय भर्ना हुन नपाउँदा शिक्षा लिनबाट वञ्चित भएकी छिन् । घर नजिकको विद्यालयले सुस्त श्रणव शक्ति भएको भन्दै भर्ना गर्न अस्वीकार गरेको बालिकाका बुबा राधेश्याम पासीले बताए ।
राधाको उमेर पाँच वर्ष पुग्ने बित्तिक्कै बुबा राधेश्याम पासीले नजिकैको ज्ञानदोय माविमा भर्ना गर्न लगेका थिए । विद्यालयले सुस्त श्रणव शक्तिका विद्यार्थीलाई पढाउने छुट्टै व्यवस्था नभएको र अन्य सामान्य विद्यार्थीसँग राखेर पढाउन नसकिने भन्दै भर्ना लिन मानेन । राधा अरु सामान्य मानिससरह प्रस्टसँग बोल्न सक्दिनन् । जन्मैदेखि उनको बोली आउँदैन । आवाजबाट उनीले आफ्ना कुरा अरुलाई भन्न सक्दिनन् । बुबा राधेश्याम पासीले अन्य विद्यालयमा पनि पटक–पटक भर्ना गर्ने प्रयास गरे । पढाउन नसकिने भनेर फिर्ता पठाइयो ।
घर छेउबाटै गाउँका अरु बालबालिका कापीकलम बोकेर पढ्न गइरहेका हुन्छन् । राधाको पढ्ने इच्छा भए पनि आँगनबाट उनीहरुलाई टुलुटुलु हरेर बस्नुको विकल्प छैन । उनीमा सुस्त श्रवण शक्ति छ । उनी सांकेतिक भाषा मात्रै बुझ्छिन् र बोल्छिन् ।
छोरीले पढ्न नपाउँदा आमा हिरा पासी चिन्ता व्यक्त गर्छिन् । अपांगता भएकी छोरीले पढ्नबाट वञ्चित हुँदा उनको भविष्य अन्धकार हुने भयो भन्ने सबैभन्दा बढी चिन्ता आमा हिराको छ ।
नेपाल सरकारले विद्यालयमार्फत आधारभूत तहको शिक्षा अनिवार्य र विद्यालय जाने उमेरका बालबालिका अनिवार्य भर्ना गर्ने नीतिसहित अभियान चलाउँदै आएको छ । शिक्षाका लागि अभियान चालेको भए पनि राधाजस्ता बालबालिका ती नीति र अभियानभित्र पर्न सकेका छैनन् । उनीहरुका लागि आफ्नै घर नजिकको विद्यालयमा विशेष कक्षासहितको विद्यालय नहुँदा शिक्षाबाट वञ्चित हुनुपरेको छ ।
स्थानीयवासी गणेश विक यस अवस्थाले सरकारले भन्दै आएको सबैलाई अनिवार्य शिक्षाको नाराले साकार रूप पाउनेमा आशंका उत्पन्न भएको बताउँछन् । (रासस)
प्रकाशित समय ११:१६ बजे

















