गृहपृष्ठ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष
सहसचिवसहित १३ जनाविरुद्ध मुद्दा दायर
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि मोबाइल भ्यान प्रयोगशाला खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णसहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
परियोजनाका लागि प्रयोगशाला मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । अख्तियारले कर्णसहित विभागकै वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, शाखा अधिकृत भागिरथ आचार्य, लेखापाल रविता श्रेष्ठ, नायव सुब्बा गुरुदत्त गौतममाथि मुद्दा दायर गरेको छ ।
यस्तै, परियोजना व्यवस्थापन इकाइ खुमलटारका उपसचिव गणेशप्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाईं, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेलविरुद्ध पनि मुद्दा दायुर गरिएको छ । प्रुडेन्ट मेडिटेक इन्टरनेसनलका प्रतिनिधि प्रवीण कुँवरविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
परियोजनाका लागि ४ मोबाइल भ्यान खरिद गर्दा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष हो । अख्तियारले विभागका महानिर्देशक कर्णसँग १२ करोड ४० लाख रुपैयाँ बिगो माग दाबी गरेको छ । वरिष्ठ खाद्य अनुसन्धान अधिकृत वस्ती, लेखापाल रविता श्रेष्ठ, नायव सुब्बा गुरुदत्त गौतम र प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजनाका व्यवस्थापन इकाइ खुमलटारका उपसचिव गणेश प्रसाद चालिसेसँग पनि १२ करोड ४० लाखका दरले बिगो माग दाबी गरिएको छ ।
इकाइका व्यवस्थापक लेखापाल बालाराम पोखरेलसँग पनि १२ करोड ४० लाख रुपैयाँ माग दाबी गरिएको छ । शाखा अधिकृत भागीरथ आचार्यसँग ४ करोड १३ लाख बिगो माग दाबी गरिएको छ । परियोजना निर्देशक हरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इञ्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाईसँग ८ करोड २६ लाखका दरले बिगो मागिएको छ ।
अख्तियारले परियोजनाका निर्देशक लक्ष्मणप्रसाद पौडेल, वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेलसँग ४ करोड १३ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ । यस्तै प्रुडेन्टका प्रतिनिधि प्रवीण कुँवरसँग २४ करोड ८० लाख रुपैयाँ माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
प्रकाशित समय ०८:०१ बजे

















