गृहपृष्ठ पोखराका केही ठाउँमा शंकास्पद वस्तु फेला, सुरक्षा सतर्कता उच्च

पोखराका केही ठाउँमा शंकास्पद वस्तु फेला, सुरक्षा सतर्कता उच्च

pokhara-banda-newskarobar

पोखराका विभिन्न ठाउँमा शंकास्पद वस्तु भेटिएका छन् । नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्द सफल बनाउन जनतालाई आतंकित पार्ने गरी शंकास्पद वस्तु राखेको पाइएको हो ।

पोखरामा बिहानै दुई ठाउँमा नेपाली सेनाको डिस्पोजल टोलीले प्रेसर कुकर बम र सकेट बम निस्तेज पारेको छ । पोखराको चाउथे स्थित वीरबहादुर कार्कीको घरअगाडि राखिएको प्रेसर कुकर बम बिहान करिब पौने ७ बजे सेनाको पोखरा एयरपोर्टमा रहेको कालिभन्जन गणको टोलीले निस्तेज पारेको हो ।

सोमबार करिब ८ बजेतिर स्थानीयले बम जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । रातभर प्रहरीले उक्त बलको वरिपरि जान स्थानीयलाई रोक लगाएको थियो । बिहान डिस्पोजल टोलीले निस्तेज पार्दा ठूलो आवाज आएको स्थानीयले बताए । हिजो बेलुकाबाट देखिएको बम हेर्न बिहानसम्म मानिसको ठूलो भीड लागेको थियो ।

त्यस्तै, तालचोकभन्दा नजिक लक्ष्मी आदर्श जाने बाटो हमालचोकमा पोलमा तारहरु बेरेर राखेको सकेट बम भेटिएको प्रहरीले जनाएको छ । उक्त सकेट बम पनि डिस्पोजल टोलीले निस्तेज पारिसकेको छ ।

पोखराको पार्दी बिरौंटामा खाद्यान्नको गोदाम घरपछाडि पट्टिको भागमा सडक पेटिमा रातो वस्तुमा केही बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ भने नयाँ बजारस्थित ओम शान्तिको भवनअगाडिको पोलमा कालो झोलामा शंकास्पद वस्तु भेटिएको छ.। शंकास्पद वस्तु पहिचान गरी डिस्पोजल टोलीले निस्तेज पारिरहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

सोमबार साँझ करिब ५ः३० बजे पोखराको सिद्धार्थचोक/चिप्लेढुंगा स्थित श्री कम्प्लेक्स कृषि बजारको सडकमै शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको डिस्पोजल टोलीले साँझ सवा ७ बजे नै डिस्पोज गरेको थियो ।

बन्दका क्रममा पोखराको मुख्य चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । पोखराका मुख्य बजार बिहानैदेखि प्रभावित छन् भने छोटो तथा लामो दूरीका सवारी साधन चलेका छैनन् । हरियो र रातो प्लेटका केही गाडी र मोटरसाइकल तथा स्कुटर भने चलेका छन् । पोखराका शैक्षिक संस्था बन्द छन् । निर्वाध रुपमा यातायातका साधन सञ्चालन हुन नपाएपछि विद्यालय बन्द गर्नुपरेको सञ्चालकहरुले बताएका छन् । विभिन्न वहानमा हुने बन्दले आम सर्वसाधारणले भने सास्ती पाएका छन् । कतिपय पैदल हिँडेर गन्तव्यतर्फ जान बाध्य छन् ।

यसैबीच, विप्लव समूहका लमजुङका सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । विस्फोटक पदार्थ भेटिएको नजिकैबाट उनलाई चन्दा संकलन गरेको रसिदसहित पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित समय ०९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु