गृहपृष्ठ सप्तरीमा गएराति पाँच घरमा लुटपाट र चोरी, स्थानीय त्रसित

सप्तरीमा गएराति पाँच घरमा लुटपाट र चोरी, स्थानीय त्रसित

lutpat-newskarobar सांकेतिक तस्बिर ।

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नम्बर २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो ।

मूलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद ४० हजार, चाँदीको आठ तोलाको पाउजु र पाँच तोलाको ब्रासलेट, मोबाइल र टर्च चोरी भएको पीडितले बताए । यसैगरी कैलु चौधरीको घरबाट नगद पाँच हजारका साथै कानमा लगाएको आधा तोला सुनको रिङ लुछेर लगेको चौधरीले जानकारी दिए । जंगल राम र झमेली सदाको एक/एक थान मोबाइल र सुनिल चौधरीको कपडा र नगद पाँच हजार लगेको स्थानीयवासीले जनाएका छन् ।

चौपायाको व्यापार गर्न भनेर ऋण लिएको पैसा चोरी हुँदा किस्ता तिर्न कठिनाइ हुने परमेश्वर रामले दुखेसो पोखे । केही दिनयता यस क्षेत्रमा चोरीको घटनामा वृद्धि भएको छ । एकै रातमा पाँच घरमा लुटपाट र चोरी भएपछि स्थानीयवासी त्रसित भएका छन् । चोरको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले बताए । (रासस)

प्रकाशित समय ०९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु