गृहपृष्ठ बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३२ पुग्यो, ८३१ जनाको उद्धार

बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३२ पुग्यो, ८३१ जनाको उद्धार

अझै केही दिनसम्म वर्षा नरोकिने

bistapit-newskarobar

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । बाढी पहिरोमा परी १७ जना बेपत्ता भएका छन् ।

बाढी पहिरोमा परी सबैभन्दा बढी ललितपुरमा ५ जनाले ज्यान गुमाएका छन् । काठमाडौं, खोटाङ, भोजपुर, काभ्रे र मकवानपुरमा ३/३ जना, सिन्धुली र धादिङमा २/२ जना तथा इलाम, झापा, ओखलढुंगा, सुनसरी, बारा, पर्सा, रामेछाप र चितवनमा १/१ जनाको मृत्यु भएको छ । बाढी र पहिरोको बढी प्रभाव २० जिल्लामा परेको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बाढी पहिरोमा परेका तथा घाइते भएका ८३१ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांकअनुसार १२ जना घाइतेको उपचार भइरहेको छ भने १७ जना बेपत्ता छन् ।

संघीय राजधानी र पूर्वी र मध्य तराईका अधिकांश क्षेत्र डुबानमा परेका छन् । विभिन्न जिल्लाका सडकमा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ । पहिरो र डुबानका कारण खानेपानीको अभाव भएको छ । राहतमा ढिलाइ भएको पीडितहरुले गुनासो गरेका छन् । बाढी पहिरोले देशभर करिब ३ हजार परिवार विस्थापित भएका छन् ।

नदी र खोलाहरुमा पानीको बहाव उच्च छ । किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको गृह मन्त्रालयले जनाएको छ । बाढी पहिरोमा फसेका १ सय ५३ जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

शनिबार पनि मौसममा सुधार नआउने मौसमविद्ले बताएका छन् । आज पनि देशका अधिकांश स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापिय रेखा बिहीबार रातिदेखि नै न्यूनचापिय क्षेत्रमा मिसिएपछि मध्य र पूर्वका धेरै स्थानमा हुरीबताससहित भारी वर्षा भइरहेको महाशाखाको अनुमान छ । शनिबार देशका पश्चिमी क्षेत्रमा पनि भारी वर्षा हुने सम्भावना छ ।

पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा पहिरो खस्ने तथा मध्य, पूर्व र पश्चिमको तराई क्षेत्रका भू–भाग डुबानमा पनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । भिजिबिलिटिका कारण हवाई र सडक यातायातमा समेत अवरोध आउनसक्ने महाशाखाले जनाएको छ ।

२४ घण्टामा सिमरामा सबैभन्दा बढी ३ सय ११ दशमलव ९ मिलिमिटर, जनकपुरमा २ सय ४५ दशमलव २ मिलिमिटर, धरानमा १ सय ५५ मिलिमिटर वर्षा भएको छ । यस्तै, काठमाडौंमा १ सय १५ दशमलव २ मिलिमिटर र ओखलढुंगामा १ सय १ दशमलव ३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

प्रकाशित समय ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु