गृहपृष्ठ रोल्पा कारागारका बन्दीहरू तालिमपश्चात् स्वरोजगार बन्दै
रोल्पा कारागारका बन्दीहरू तालिमपश्चात् स्वरोजगार बन्दै
रोल्पा कारागारका बन्दीहरु स्वरोजगार बन्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका बन्दीहरु सीपमूलक तालिमपश्चात् स्वरोजगार बन्न थालेका हुन् ।
उनीहरुको मनोबल बढाउन तथा आयआर्जनमा सहयोग पु-याउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा एकमहिने मुढा बनाउने तालिम दिएको थियो । त्यसअघि टोपी बुन्ने तालिमसमेत लिइसकेका उनीहरुका लागि ढाका टोपी बुन्न र मुढा बनाउन मेसिन औजारसमेत हस्तान्तरण गरिएको थियो । सामग्री पाएका उनीहरुमध्ये अधिकांशले आफ्नो कामलाई निरन्तरता दिइरहका छन् भने कतिपय बन्दीहरु काम नगरी त्यत्तिकै बसेका छन् । कारागारभित्र सिकेको सीपले कैद भुक्तानपछि पनि जीविकोपार्जनमा मद्दत गर्ने भएकाले आफूले कामलाई निरन्तरता दिएको बन्दी तुलाधर घर्ती मगरको भनाइ छ ।
मिहिनेत र परिश्रम गरी कारागारभित्र उत्पादन गरेका मुढालगायत विभिन्न सामग्रीले सोचेजस्तो बजार नपाउँदा कहिलेकाहीँ नैराश्यता बढ्ने गरेको बन्दी ईश्वर महराले बताए । ‘आफूहरुले उत्पादन गरेको सामग्रीको प्रचारप्रसार हुन नसक्दा बजारीकरणको समस्या भएको हुन सक्छ,’ महराले भने ।
कारागार बसाइलाई सहज बनाउन पनि यस्ता सीपमूलक क्रियाकलापले सहयोग गर्ने प्रजिअ लक्ष्मण ढकालको भनाइ छ । ‘कारागारलाई सुधारगृहका रुपमा विकास गर्न यस्ता सीपमूलक तालिमले सहयोग गर्न सक्छ,’ प्रजिअ ढकालले भने । सीपलाई सदुपयोग गरी आयआर्जन लाग्नुपर्ने प्रजिअ ढकालको सुझाव छ ।
जिल्ला कारागार रोल्पामा हाल ६ महिला र ७४ पुरुष गरी ८० जना बन्दी रहेको इन्चार्ज ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
बजारको व्यवस्थापन हुन नसक्दा बन्दीले बनाएका यी विभिन्न सामग्रीले उचित मूल्य पाउन सकेका छैनन् । कारागार आसपास वा बजारको अन्य क्षेत्रमा समेत बिक्री वितरण कक्षको व्यवस्था गर्न सके जेलजीवन बिताइरहेका कैदीहरुको मनोबल बढ्नाका साथै उनीहरुको श्रमले मूल्य पाउने थियो । यसतर्फ ध्यान जान जरुरी रहेको बताइएको छ । (रासस)
प्रकाशित समय १४:१२ बजे

















