गृहपृष्ठ अख्तियारमा ५७ प्रतिशत उजुरी फर्छ्योट

अख्तियारमा ५७ प्रतिशत उजुरी फर्छ्योट

aaktiyar-surkhet-newskarobar

आर्थिक वर्ष २०७५/०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीमध्ये ५७.३ प्रतिशत उजुरी फर्छ्योट भएका छन् । कर्णाली प्रदेशका १० वटै जिल्लामा परेका ९६३ मध्ये ५५२ उजुरी फर्छ्योट भएको कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

बाँकी ४११ उजुरीमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीले जानकारी दिए । उनले कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै उजुरी सुर्खेतमा परेको बताए । सुर्खेतमा गत आर्थिक वर्षमा २०१ वटा उजुरी परेको र १४१ उजुरी फर्छ्योट भई ६० वटा उजुरी अनुसन्धानको क्रममा भएको बताए ।

त्यस्तै दैलेखमा १६८ उजुरी परेकोमा ९८ फट्र्यौट र ७० उजुरीमा अनुसन्धान भइरहेको छ । जाजरकोटमा १२७ उजुरी परेकोमा ५७ फर्छ्योट र ७० उजुरीमा अनुसन्धान भइरहेको सुवेदीले बताए । त्यस्तै कालिकोटमा ९१, मुगुमा ८२, सल्यानमा ७७, जुम्लामा ७४, रुकुम पश्चिममा ६२, हुम्लामा ४९, डोल्पामा २८ र रुकुम पूर्वमा चारवटा उजुरी परेको उनले बताए । आयोगको कार्यक्षेत्र कर्णाली प्रदेशको १० वटा जिल्ला भए पनि गत वर्षको चारवटा मुद्दा अनुसन्धानका क्रममा भएकोले रुकुमपूर्वको पनि यो आर्थिक वर्षमा उजुरी सुर्खेतबाटै हेरिएको प्रमुख सुवेदीले बताए ।

उनले आयोगमा पर्ने उजुरीमध्ये आधा उजुरी स्थानीय तहकै भएको जानकारी दिए । कर्णाली प्रदेशको हकमा सुर्खेतको भेरीगंगा नगरपालीका र मुगुको छायाँनाथ नगरपालीको उजुरी धेरै परेको सुवेदीले बताए । ‘आयोगले भ्रष्टाचारलाई नियन्त्रण गर्नको लागि विभिन्न ठाँउमा अन्तर्क्रियाका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ,’ उनले भने, ‘भ्रष्टाचार कहीँ कतै भएको संकेत जनताले पाए त्यसविरुद्धमा बोल्न सक्ने बनाउनका लागि विद्यार्थी र नागरिकलाई विभिन्न अन्तक्र्रिया गर्दै आएका हौं ।’ आयोगले स्थलगत अनुगमनसमेत गर्ने गरेको सुवेदीले जानकारी दिए । आयोगमा विशेषगरी वैशाखदेखि साउनसम्म मुद्दा धेरै आउने गरेको उनले बताए ।

आयोगमा सबैभन्दा बढी चिठीको माध्यमबाट उजुरी पर्ने गरेका छन् । त्यस्तै उजुरीकर्ताहरुमा सबैभन्दा धेरै बेनामे उजुरी पर्ने गरेको सुवेदीले बताए । गत आर्थिक वर्षमा ५९८ उजुरी बेनामे परेका थिए भने पुरुष ३१६, महिला २० र संघ–संस्थाबाट २९ वटा उजुरी परेको कार्यालयले जानकारी दिएको छ । गत आर्थिक वर्षमा चारजना भ्रष्टाचार गर्दागर्दै रंगेहात पक्राउ परेका छन् ।

रंगेहात पक्राउ पर्नेहरुमा शुशोभन श्रेष्ठ नेपाल प्रहरी निरीक्षक सुर्खेत १५ हजार, महेन्द्र बिसी फरेस्टर चौरजहारी रुकुम ७ हजार, धनबहादुर वली अधिकृत सल्यान २५ हजार र जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा ४ लाखसहित रंगे हात पक्राउ परेको प्रमुख सुवेदीले जानकारी दिए ।

प्रकाशित समय १७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु