गृहपृष्ठ आँखा अस्पतालमा बिरामीको समस्याअनुसार उपचार सेवा
आँखा अस्पतालमा बिरामीको समस्याअनुसार उपचार सेवा
विराटनगर आँखा अस्पतालले आठ वर्षको अवधिमा ४ लाख ९८ हजार ७७० जनालाई बहिरंग सेवा प्रदान गरेको जनाएको छ । तीमध्ये ७६ हजार ५२० जनालाई शल्यक्रिया सेवा प्रदान गरेको छ ।
अस्पतालले बिनासुई मोतियाविन्दुको शल्यक्रिया सेवा, पर्दासम्बन्धी सम्पूर्ण सेवा, जलविन्दु, स्क्लेरल फिजेसन शल्यक्रिया, अकुलोपस्टिकफ ए/बी स्क्यान/सिसिटीजस्ता सेवा, बहिरंग सेवा, २४ सै घण्टा आकस्मिक सेवा, प्रयोगशाला, फार्मेसी सेवा, चस्मा वितरण, निःशुल्क अन्तरंग सेवा र निःशुल्क परामर्श सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये प्रायः जलविन्दुको समस्या भएर आउने गरेकाले मेडिकल रेटिन तथा जलविन्दुसम्बन्धी उपचार सेवा पनि विस्तार गरिएको छ ।
विश्वमा अन्धोपनको पहिलो कारण मोतियाविन्दु र दोस्रो कारण रेटिना पर्दासम्बन्धी समस्या भएका आँखाका बिरामी भएकाले नै रेटिना सेवा विस्तार गरेको अस्पतालका राजेश प्रसार्इंले बताए ।
सरदर आठजना बिरामीमध्ये एकजना बिरामी उच्च रक्तचाप तथा मधुमेहबाट पीडित रहेको तथ्यांक छ । तीमध्ये ७० देखि ८० प्रतिशत मधुमेहका बिरामी भएको अस्पतालले बताएको छ । मधुमेह बिरामी हुने समस्यालाई निराकरण गर्न अस्पतालले सर्वसुलभ उपचार पद्धति सुरु गरेको छ । रेटिना बिरामीका लागि एएनटीआई लगाउने कार्य पनि थालिएको आँखाका चिकित्सक आदी खत्रीले जानकारी दिनुभयो ।
उच्च रक्तचाप र मधुमेहको खराबीले गर्दा पर्दामा हुने समस्या जस्तै आँखाको भित्री भागमा रगत जम्ने, पर्दा च्यातिने र अन्य आँखामा लाग्न सक्ने चोटका कारणले हुने आँखाको समस्यालाई पर्दामा शल्यक्रियामार्फत सेवा प्रदान गर्ने गरेको बताइएको छ ।
आँखाजस्तो महत्वपूर्ण अंगलाई सुरक्षित गर्न मानिसले खानपानमा विशेष ध्यान दिनुपर्ने र समस्या देखिने बित्तिकै आँखाको जाँच तुरुन्त गरिहाल्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् । (रासस)
प्रकाशित समय १५:३७ बजे
















