गृहपृष्ठ म्याग्दीको औलागाउँमा चितुवाको आतंक

म्याग्दीको औलागाउँमा चितुवाको आतंक

chituwa_newskarobar

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानको औलागाउँमा चितुवाले आतंक मच्चाएको छ । चितुवाको आक्रमणबाट एक हप्तायता चार बाख्रा, दुई कुकुर र २० कुखुरा मरेका छन् । दैनिकजसो रातिको समयमा गाउँमा चितुवा आउने गर्छ । चितुवाको आक्रमणबाट पशुपक्षी मर्ने क्रम बढेपछि औलाका बासिन्दा त्रसित भएको स्थानीयवासी यामप्रसाद पुर्जाले बताए । चितुवाले टीका घताने र धनकुमार विकको खोरबाट दुई-दुई बाख्रा र दुई कुकुर मारेको छ । सन्देश रञ्तिजाको १४ र यामप्रसाद रञ्तिजाले पालेका छ कुखुरा खोरभित्रै मारेको छ । चितुवाको आक्रमणको डरले स्थानीयवासी समसाँझै घरभित्र ढोका थुनेर बस्न थालेका छन् । घरबाहिरको शौचालय जानलाई समेत त्रास भएको छ ।

स्थानीयले बाख्रा कुखुराका खोर मर्मत गरेका छन् । मानिसलाई समेत आक्रमण गर्ने खतरा बढेपछि गाउँलेले सतर्कता अपनाएका छन् । एक्लै हिँडडुल नगर्ने, रातिको समयमा घर बाहिर ननिस्कने, कुखुरा, बाख्रालाई सुरक्षित ठाउँमा सारेका छन् । जंगलमा आहरा पाउन छाडेपछि चितुवा गाउँ पस्ने गरेको बताइएको छ । (रासस)

प्रकाशित समय १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु