गृहपृष्ठ बाजुरामा जंगली जनावरले धानबाली नष्ट

बाजुरामा जंगली जनावरले धानबाली नष्ट

जिल्लाका किसानलाई यतिबेला जंगली जनावरबाट खेती कसरी बचाउने भन्ने चिन्ता परेको छ । यहाँका किसानले हिउँद र बर्खामा दुःखकष्ट गरी लगाएको खेती पाक्न लागेको समयमा सधैं जंगली जनावर भालु, बँदेल र बाँदरले पूरै सखाप पार्दै गएपछि किसानलाई चिन्ता परेको हो ।

जिल्लामा पछिल्लो समयमा अधिकांश ठाउँमा सामुदायिक वनको संख्यामा वृद्धि हुँदै गएपछि जंगली जनावरको संख्यामा पनि वृद्धि हुँदै गएको छ । आहराको खोजीमा ती जंगली जनावरले किसानले लगाएको खेतीबाली नष्ट गर्दै आएका छन् । जिल्लाको बडिमालिका, त्रिवेणी, बूढीगंगा नगरपालिका र छेडेदह गाउँपालिकालगायतका किसानले लगाएको धानबाली पाक्न लागेको समयमा नै जंगली जनावर बँदेल, भालु र बाँदरले नष्ट पार्दै गएपछि यहाँका किसानलाई आफूले के खाने भन्ने चिन्ताले सताएको स्थानीयवासी पार्वती नेपालीले बताए ।

जिल्लाको बूढीगंगा नगरपालिकाका स्थानीयवासी सनी दमाईले भने, ‘चैत-वैशाखमा लगाएको धानबाली पाक्न लागेको समयमा जंगली जनावर बँदेल, भालु र बाँदरले पूरै सखाप गरिदिएपछि आफूले भोकभाकै बस्नुपर्ने चिन्ता लागेको छ ।’ नेपालीको महान् चाडपर्व दसैं नजिकै आउन लागेको छ । दसैंको बेला घरमा पाहुना आउने हुँदा उनीहरुलाई के खुवाउने हो । घरमा अरु केही खानेकुरा छैन । ‘यसभन्दा पहिला यसै धानबालीबाट दसैंमा आउने पाहुनालाई खुवाउन सहज हुन्थ्यो,’ उनले भने, ‘आफूले दिनमा हेरालो लागेर धानबाली बचाउने गरेको भए पनि बेलुका बँदेल, भालु आएर धानबाली सखाप पार्दा अब बालबच्चालाई हिउँदमा के खुवाउने भन्ने चिन्ता लागेको छ ।’

जिल्ला वन कार्यालय बाजुराका निमित्त प्रमुख हरि यादवले किसानले लगाएको खेती नष्ट पार्‍यो भन्दैमा वन्यजन्तु मार्न नपाइने भएकाले किसानले आफूले लगाएको खेतीलाई आफैँले सुरक्षा गर्नुपर्ने बताए ।

उनले सामुदायिक वन नजिकै रहेको खेती जंगली जनावरले नष्ट गरेपछि प्रहरीको मुचुल्का साथै सामुदायिक वनको लेटरप्याडमा सिफारिस ल्याएर जिल्ला वन कार्यालय बाजुरामा पेस गरेपछि कार्यालयले राष्ट्रिय निकुञ्जलाई राहतका लागि सिफारिस गर्न सक्ने बताए । (रासस)

प्रकाशित समय १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु