गृहपृष्ठ विप्लव समूहका काभ्रे जिल्ला सेक्रेटरी पक्राउ

विप्लव समूहका काभ्रे जिल्ला सेक्रेटरी पक्राउ

pakrau-arrest-newskarobar

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको हो ।

पनौती नगरपालिका-९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए । ‘विशेष सूचनाका आधारमा थोकरलाई घरबाटै पक्राउ र्गयौँ,’ उनले भने । ३२ वर्षीया थोकर हालै मात्र विप्लव समूहको काभ्रेपलाञ्चोक सक्रेटरी भएको जनाइएको छ ।

यसअघि प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च(अप्रेशन’का क्रममा काभ्रेपलाञ्चोकबाट विसं २०७५ चैत ९ गते बिहान विप्लव समूहका मध्य कमाण्डर सुदर्शन भनिने हेमन्तप्रकाश ओलीसहित नौ नेता-कार्यकर्तालाई काभ्रेपलाञ्चोक र ललितपुरको सिमानामा पर्ने खानीखोला गाउँपालिका-७ मिल्चेस्थित बोरेनी नजिकैबाट गाडीमा काठमाडौँतर्फ गइरहेको अवस्थामा पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा ‘विप्लव’ समूहका मध्य कमाण्डर ओली, धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर अधिकारी, देव घिमिरे, सञ्जिव कार्की, लोकेन्द्र खड्का थिए । यस्तै, चैत ६ गते पनि काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका-२ खहरेपाँगुस्थित काफलडाँडामा साँझ ‘सर्च’मा गएको महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीले विप्लव समूहका कार्यकर्ता मेची नगरपालिका-३ का ३३ वर्षका शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका-६ नेवारटोलका ३३ वर्षकै विशाल तामाङलाई पनि पक्राउ गरेको थियो । (रासस)

प्रकाशित समय ०८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु