गृहपृष्ठ भारतीय नक्साबारे प्रधानमन्त्री माैन बसेकाले आशंका : कांग्रेस प्रवक्ता
भारतीय नक्साबारे प्रधानमन्त्री माैन बसेकाले आशंका : कांग्रेस प्रवक्ता
भारतीय नक्साको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कांग्रेस सभापति शेरबहादुर देउवाले लगाएको आरोप आशंका मात्र भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । सोमबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीमाथिको आरोप पार्टीको ठहर नभएको बताए ।
सभापति देउवाले गत शनिबार पोखरामा भएकाे चुनावी सभामा बाेल्दै भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्शा जारी गरेको भनेर विवादस्पद अभिव्यक्ति दिएका थिए ।
सबै दलले भारतसँग छिटो वार्ता गर्न पटक-पटक भन्दा पनि प्रधानमन्त्री ओलीले माैन बसेकाले आशंका गरिएको कांग्रेस प्रवक्ता शर्माको भनाइ छ । सरकार र नेकपाका नेताले देउवालाई जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्न उनले सुझाव दिए । ‘सरकारले देउवालाई जवाफ दिइरहनु पर्दैन । सिधै मोदीसँग कुरा गरे हुन्छ,’ शर्माले भने ।
नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर भारतले नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ । सरकारले पनि भारतको एकपक्षीय नक्सा अस्वीकार्य हुने भन्दै कूटनीतिक नोट भारत पठाइसकेको जनाएको छ ।
प्रकाशित समय १३:०८ बजे

















