गृहपृष्ठ केपी ओलीलाई प्रधानमन्त्री पदमा बसिरहने नैतिक हैसियत छैन : विन्दा राना

केपी ओलीलाई प्रधानमन्त्री पदमा बसिरहने नैतिक हैसियत छैन : विन्दा राना

khemraj poudel चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस उम्मेदवार खेमराज पौडेल ।

नेपाली कांग्रेस नेतृ एवं सांसद विन्दादेवी रानाले केपी ओली सरकार पूरै असफल भइसकेको बताएकी छन् । पोखरामा आयोजित चुनावी सभामा सांसद रानाले भ्रष्टाचार, महिला हिंसा, कर, दण्डहीनता, सुशासनलगायतका विषयमा यो सरकार पूरै असफल भएको र केपी ओलीलाई प्रधानमन्त्रीको पदमा बसिरहने नैतिक हैसियत अब नभएको बताइन् ।

प्रधानमन्त्री ओलीको विकास र समृद्धिको कहाँ र कसरी हो त्यो आफूले बुझ्न नसकेको उनले बताइन् । ‘विकास र समृद्धि भौतिक पूर्वाधार, कृषिजन्य वस्तुको उत्पादन, दैनिक उपभोग्य सामान, युवालाई रोजगारी, धेरै भन्दा धेरै उद्योगधन्दा खोल्ने काममध्ये के–के हो ?’ उनले प्रश्न गरिन् ।

‘गत वर्षको बजेटमार्फत सबै नेपालीको बैंकमा खाता हुन्छ भन्ने तर नागरिकता वितरणमा बखेडा झिक्ने सरकारको यो रवैया के हो ? प्रस्ट पार्न आग्रह गर्छु,’ उनले भनिन् । उनले मौलिक हक कार्यान्वयन गर्न पनि सरकारले कानुन नबनाएकोमा आपत्ति जनाइन् ।

पोखरा १५ की चुनावी कमान्डर रानाले संविधानमा २३ वटा आयोगको व्यवस्था गरिएको तर सरकार गठन भएको दुई वर्ष पुग्दासमेत संविधान कार्यान्वयन नभएको भन्दै सरकारको आलोचना गरिन् ।

विकास र समृद्धिको नारा घोक्ने सरकारले दैनिक एक हजार ५०० युवा बिदेसिएको टुलुटुलु हेरेर बसेको भन्दै उनले लगानीमैत्री, युवामैत्री वातावरण सिर्जना गरेर बिदेसिएका युवालाई स्वदेशमै काम लगाउनुपर्नेमा उनले जोड दिइन् ।

नेतृ रानाले यो चुनाव नेपाली कांग्रेसलाई जिताएर स्वदेश तथा विदेशमा सन्देश दिन आवश्यक रहेको समेत बताइन् । उनले भनिन्, ‘सरकार हिँडेका बाटाहरू गलत छन्, सच्चिएर लोकतान्त्रिक ढंगले अघि बढ्नुपर्छ भन्नकै लागि भए पनि कांग्रेसले यो चुनाव जित्नुपर्छ ।’ सरकारको गतिविधि ठीक लागेमा नेकपालाई र गलत लागेमा कांग्रेसको रुख चिन्हमा मतदान गर्न उनले आग्रह गरिन् ।

सकियो मतदाता भेटघाट
नेपाली कांग्रेस कास्कीले क्षेत्र २ का सबै मतादातसँगको भेटघाट सकिएको जनाएको छ । ३ चरणमा चुनाव प्रचार अभियान चलाएको कांग्रेसले पहिलो, दोस्रो र तेस्रो चरणमा मतदाता भेटघाट पूरा गरेको जनाएको छ ।

एक पटक सबै मतादातसंग भेट गरी मतदाताका गुनासो सुन्ने र पार्टीको धारणा स्पष्टसंग राख्ने काम भएको पार्टी सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार अब चुनावी सभामार्फत पार्टीको प्रतिबद्धता सार्वजनिक गरिनेछ ।

प्रकाशित समय १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु