गृहपृष्ठ जथाभावी हर्न बजाउने साढे ४३ हजार सवारीसाधनलाई कारबाही

जथाभावी हर्न बजाउने साढे ४३ हजार सवारीसाधनलाई कारबाही

traffic_police_Check_newskarobar फाइल तस्बिर

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अढाइ वर्षमा जथाभावी हर्न बजाउने साढे ४३ हजार सवारीसाधनलाई कारबाही गरेको छ । महाशाखाले २०७४ वैशाख १ देखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ४३ हजार ६२३ सवारीसाधनलाई कारबाही गरेको हो । मंसिरमा मात्रै विशेष अभियान सञ्चालन गरी ५९८ सवारी साधन कारबाहीमा परेको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही बढाएको हो । महाशाखाले सोमबार मात्र १८८  सवारीसाधनलाई कारबाही गरेको छ ।

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भन्दै ट्राफिक कार्यालयले कारबाहीलाई तीव्रता दिएको जनाएको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी गम्भीर दुर्घटना हुने खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्को भाग नदेखिने खतरानाक मोड / चोकमा हर्न पूर्णरुपमा निषेध गरिएको जानकारी दिए । ‘ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका छौँ,’ उनले भने ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को  (ग) अनुसार ट्राफिक प्रहरीले कारवाही प्रक्रिया चलाउँदै आएको छ । उक्त दफाअनुसार सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर ५ सय रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ ।

प्रकाशित समय १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु