गृहपृष्ठ कांग्रेसको ठहर : बूढीगण्डकीमा राष्ट्रघात
कांग्रेसको ठहर : बूढीगण्डकीमा राष्ट्रघात
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले बूढीगण्डकीमा राष्ट्रघात गरेको आरोप लगाएको छ । स्वदेशी लगानीमै बूढीगण्डकी निर्माण गर्ने भन्दै प्रतिलिटर डिजेल र पेट्रोलमा ५ रूपैयाँ अतिरिक्त रकम उठाएको सरकारले बिना प्रतिस्पर्धा विदेशी कम्पनीलाई आयोजना सुम्पिएर राष्ट्रघात गरेको कांग्रेसको ठहर छ ।
पाँच रुपैयाँका दरले १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत परियोजनाका लागि कात्तिक मसान्तसम्ममा ३८ अर्ब रुपैयाँ जम्मा भइसकेको छ । ‘देशमा तुलनात्मक रुपले सहज राजनीतिक वातावरण बनेको छ अतः संसारभरका नेपाली गाँस काटेर देशमा लगानी गर’ भनेर एकातिर भावनात्मक अपिल गर्ने र त्यसको व्यावहारिक गुरूयोजना तर्जुमा गर्ने ऐतिहासिक अवसरलाई बेवास्ता गर्दै सरकारले राष्ट्रघाती काम गरिरहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
नेपाली आफैंले बनाउन सक्ने ठहरका साथ अघि बढाउने संकल्प गरिएको र रकमको बन्दोबस्त गर्ने गति अघि बढिसकेको स्थिति हुँदाहुँदै बूढीगण्डकीमा किन घात गरियो भन्दै कांग्रेसले प्रश्न गरेको छ । कांग्रेस नेतृत्वको अघिल्लो सरकारले अध्ययन कार्यदलको प्रतिवेदनका आधारमा नेपाली आफैंले निर्माण गर्न सकिने मार्ग प्रशस्त गरेको भन्दै प्रवक्ता शर्माले वर्तमान सरकार त्यसविपरीत उभिनुको आन्तरिक अभिष्टमा आर्थिक चलखेलले भूमिका त छैन भनेर प्रश्न गरेका छन् ।
सरकारले मन्त्रिपरिषद् निर्णयबाट बूढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिएको छ ।
प्रकाशित समय १७:३८ बजे

















