गृहपृष्ठ रिढीपानीको काठेखोरमा अर्को पोथी चितुवा पर्‍यो

रिढीपानीको काठेखोरमा अर्को पोथी चितुवा पर्‍यो

चितुवा नियन्त्रणका लागि तनहुँको भानु नगरपालिकाकाको रिढीपानीस्थित कालिका सामुदायिक वनमा राखिएको खोरमा आज आज बिहान एउटा पोथी चितुवा परेको छ । दिन प्रतिदिन चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि चितुवा नियन्त्रणका लागि त्यहाँका वनमा काठेखोर बनाइएका थिए ।

अन्दाजी १० वर्ष र ५० केजी तौल भएको पोथी चितुवा खोरमा परेर नियन्त्रणमा आएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा आएको चितुवालाई सुरक्षित रूपमा चितवन स्थानान्तरण गरिनेछ ।

चितुवा नियन्त्रणका लागि नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठका खोर निर्माणपछि खोरमा परेर पाँच चितुवा नियन्त्रणमा आएका छन् । दुई भाले र दुई पोथी गरी चार चितुवा नियन्त्रणमा आइसकेका छन् । खोरमा परेका चितुवामध्ये एउटालाई रुपन्देहीको शंकरनगरस्थित प्राणी उद्यान, दुईलाई चितवन राष्ट्रिय निकुञ्ज र एउटालाई बुटवलस्थित मणिमुकुन्दसेनको मिनी चिडियाखानामा स्थानान्तरण गरिएको थियो ।

चितुवा नियन्त्रणका लागि बनाइएका काठका खोर प्रभावकारी बन्दै गएका डिभिजन वनप्रमुख बरालले जानकारी दिए । उक्त नगरपालिकामा बालबालिकामाथि आक्रमण गर्ने पोथी चितुवा हुन सक्ने अनुमान छ । भालेभन्दा पोथी चितुवा नरभक्षी हुने वनका प्राविधिकको भनाइ छ । नगरपालिकाका वडा नं १, २, ३ र ४ का विभिन्न सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठका खोर निर्माण गरेर राखिएको छ । (रासस)

प्रकाशित समय १०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु