गृहपृष्ठ जनकपुरधाममा आज सीता-राम विवाह महोत्सव मनाइँदै

जनकपुरधाममा आज सीता-राम विवाह महोत्सव मनाइँदै

janakpurdham

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान् सीता-राम विवाह महोत्सव-२०७६ हर्षोल्लासपूर्वक मनाइँदै छ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन् ।

त्रेतायुगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्नु, अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम रामका गुरु विश्वामित्रसँग जनकपुरधाम आउनु र माता सीतासँगको विवाहको सेरोफेरोमा केन्द्रित रहेर यहाँ विवाह महोत्सव मनाइने गरेको छ । सोही विवाह प्रसंगलाई विभिन्न पक्षद्वारा सजीव र मूर्त रूपमा प्रस्तुत गर्नु महोत्सवको विशेषता मानिएको छ । महोत्सवमा यस पटक अयोध्याबाट नै प्रतीकात्मक भगवान् रामको जन्ती आएकाले जनकपुरधाममा मानव सागर ओर्लेको छ ।

भगवान् रामको चरित्र लौकिक र अलौकिक रूपमा लोकमानसमा अंकित छ । अलौकिक रूपमा रामलाई निर्गुण ब्रह्म एवं सगुण विष्णु मानिएको छ भने सीतालाई शक्तिस्वरूपा, बुद्धिरूपा, ब्रह्ममयी र योगमायाको संज्ञा दिइएको छ । सीतालाई छोरी-बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुने गरेका छन् ।

एउटा आश्चर्यको कुरा के छ भने मिथिलाका ८० प्रतिशतभन्दा अधिक नाममा रामको ‘र’ अथवा सीताको ‘स’ पाइन्छ । ‘र’ एवं ‘स’ मिथिलावासीको चेतन, अवचेतन र अचेतनसम्म पुगेको दृष्टिगोचर हुन्छ । मिथिलामा कुनै पनि धार्मिक, सांस्कृतिक अनुष्ठानमा सीता-रामको चर्चा आवश्यक मानिन्छ । त्यसैले पनि मिथिलामा प्रत्येक दुलहालाई राम र प्रत्येक दुलहीलाई सीताका रूपमा विवाह गर्ने चलन छ ।

मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम-सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगी स्वयंवर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ ।

अयोध्याबाट जन्तीका रूपमा आएका प्रतीकात्मक दशरथका भूमिकामा रहेका कन्हैया दास वर्तमान समयमा पनि सीता-रामको विवाहको आयोजनाले हिन्दु संस्कृतिलाई जीवन्तता प्रदान गरिरहेको बताउँछन् । सीताले नै रामको चरित्रलाई दिगो बनाएका कारण सीतारामको आदर्श मानव सभ्यता संस्कृतिका लागि अनुकरणीय रहेको उनी प्रस्ट्याउँछन् । (रासस)

प्रकाशित समय ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु