गृहपृष्ठ आज दिनभर हिमाल-पहाडमा हिमपात र उपत्यकामा वर्षाकाे सम्भावना

आज दिनभर हिमाल-पहाडमा हिमपात र उपत्यकामा वर्षाकाे सम्भावना

आज दिनभर उच्च पहाडी र हिमाली भू–भागमा हिमपात हुने र उपत्यकालगायतका क्षेत्रमा वर्षा हुने सम्भावना रहेकाे छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ ।

बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज काठमाडौँ उपत्यकासहित देशको पश्चिमी पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको मौसमविदहरुले बताएका छन्।

देशको पश्चिमी भू–भागका केही स्थानमा हावाहुरी आउने सम्भावना रहेको बताइएको छ । पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायुको प्रभावले एक्कासी बिग्रिएको मौसम शनिबार बेलुकाबाट क्रमश सुधार हुँदै जाने बताइएको छ ।

विभागका अनुसार पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने र पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको छ ।

आइतबार देशको पश्चिमी भू–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानहरुमा साथै मध्य र पूर्वका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित समय ०६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु