गृहपृष्ठ हामी जे गर्छौैं, स्थानीय र प्रदेश सरकारसँगको समन्वयमा गर्छौं : रक्षामन्त्री पोखरेल
हामी जे गर्छौैं, स्थानीय र प्रदेश सरकारसँगको समन्वयमा गर्छौं : रक्षामन्त्री पोखरेल
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर मात्र संघीय सरकारले काम गर्ने बताएका छन् । प्रेस संगठन कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सरकारको हरेक काम पारदर्शी हुने बताए ।
नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका उनले जुन उद्देश्यले २०६४ सालमा ट्रस्टको स्थापना भएको थियो, त्यहीअनुरुप शिक्षा, स्वास्थ्य, पर्यटन व्यवसाय र आयआर्जन गर्ने हिसाबले विधिसंगत र जनताको हितमा काम गर्ने बताए । पूर्वराजा, महाराजाहरुको सम्पत्ति पूर्वदेखि पश्चिमसम्म रहेकाले त्यसको उचित संरक्षण गर्दै स्थानीय र प्रदेश सरकारसँगको परामर्श तथा समन्वयको आधारमा मात्र आवश्यकता हेरी प्रयोग हुने मन्त्री पोखरेलले बताए ।
पोखराको रत्न मन्दिर र हिमागृह स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी छिट्टै खुला गरिने भएको उनले जनाए । उनले भने, ‘हामीले जे गर्छौैं, कानुनसंगत ढंगबाट स्थानीय र प्रदेश सरकारसँगको समन्वयमा पारदर्शी ढंगबाटै गर्छौं ।’
रक्षामन्त्री पोखरेलले नेपालको एक इन्च पनि जमिन कसैलाई अतिक्रमण गर्न नदिने बताएका छन् । उनले अरुको एक इन्च जमिन पनि अतिक्रमण नगर्ने र अरुलाई पनि अतिक्रमण गर्न नदिने बताए ।
आपसी सहमति र अन्तर्राष्ट्रिय नियमअनुसार नै नेपाल-भारत बीचको सीमा समस्या हल गरिने रक्षामन्त्री पोखरेलको भनाइ थियो । उनले नेपाल सरकारको तर्फबाट तथ्य र प्रमाणसहित भारतसँग वार्ता गरी मिचिएको भूमि फिर्ता गराउने बताए । उनले भने, ‘यस अघि पनि नेपालको सीमा साँघुरिएकै थियो । त्यो अहिले पनि जारी छ तर यस अघिका सरकारले सीमा मिचिएको विषयमा औपचारिक रुपमा कुरा गर्न सकेन । वर्तमान सरकारले सीमा विवाद अन्त्य गर्न वार्ताको लागि औपचारिक पत्र पठाइसकेको छ ।’
नेपालका सबै राजनीतिक शक्तिहरु यस विषयमा एकै ठाउँमा उभिएकाले र ऐतिहासिक तथ्य तथा प्रमाणका आधारमा कुटनीतिक ढंगबाट पहल सुरु भएकाले विवाद छिट्टै हल गर्ने पक्षमा सरकार रहेको रक्षामन्त्री पोखरेलले जानकारी गराए । भारतले मिति तय गर्न साथ सीमा विवाद विषयमा छलफल हुने उनले बताए ।
नीति निर्माण र आवश्यकताको आधारमा संरचना निर्माणमा सरकार केन्द्रित रहेको उनले बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यसमेत रहेका रक्षामन्त्री पोखरेलले भने, ‘हिजो जनतासँग जे प्रतिवद्धता व्यक्त गरेका थियौँ । आउने दिनमा त्यो कार्यान्वयन गर्नको लागि आवश्यक पर्ने विशेष नीतिहरु निर्माण गर्न केन्द्रित भएका छौँ ।’
प्रकाशित समय १८:३० बजे

















