गृहपृष्ठ मृत्यु जितेर उमेश घर फर्किंदा सिंगो गाउँ भक्कानियो
मृत्यु जितेर उमेश घर फर्किंदा सिंगो गाउँ भक्कानियो
साउदी अरबमा पाकिस्तानी सहकर्मीको हत्या गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएका धनुषाका उमेश यादव १४ वर्ष जेल जीवन बिताएर सोमबार घर फर्किएका छन् । विदेशमा जेल जीवन बिताएर यादव घर फर्किंदा सिंगो गाउँ भक्कानियो ।
वैदेशिक रोजगारीका लागि साउदी गएपछि डेढ महिना नबित्दै पाकिस्तानी सहकर्मीको हत्या अभियोगमा जेल परेका उमेश नेपाल आउने कुरा सबैका लागि सपना जस्तै भइसकेको थियो । सपनामै सीमित बनेका उमेश घर आउँदा उनका परिवार र गाउँलेहरु खुसीले अंकमाल गर्दै खुसीले आँसु रोक्न सकेनन् ।
साउदी अरबबाट मृत्यु जितेर घर फर्किएका उमेशलाई गाउँमा भव्य स्वागत गरिएको छ । घर फर्किने आशा त उमेशलाई पनि थिएन । ‘घर आउँछु भन्ने कुरा सपना जस्तै भइसकेको थियो, आशा मरिसकेको थियो, मलाई पुनर्जीवन दिनुहुने सबैलाई धन्यवाद,’ उनले भने ।
पाकिस्तानी सहकर्मीको हत्या गरेको भन्दै उनीविरुद्ध सन् २०१८ मे १५ मा साउदी अदालतले मृत्युदण्ड सुनाएको थियो । त्यसपछि परिवारले समेत उनलाई भेट्ने आशा मारिसकेका थिए । उमेशको मुद्दा चर्चामा आएसँगै सामाजिक अभियन्ता सरोज रायले थालेको पहलले अन्ततः रंग ल्याएको छ ।
प्रकाशित समय ११:४० बजे

















