गृहपृष्ठ राजर्षिजनक विश्वविद्यालयमा तालाबन्दी
राजर्षिजनक विश्वविद्यालयमा तालाबन्दी
राजर्षि जनक विश्वविद्यालयमा राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले तालाबन्दी गरेको छ । विश्वविद्यालयलाई पार्टीकरण गर्दै कांग्रेसी तथा नेकपाको ‘रजाइँ’ गर्ने थलो बनाएको भन्दै संघले तालाबन्दी गरेको हो ।
सटरमै सञ्चालन गरी विश्वविद्यालयको साख र गरिमा धुमिल गर्न खोजिएको विरोधमा ८ बुँदे मागसहित तालाबन्दी गरिएको प्रा.डा. विनोद साहले बताए । प्राध्यापक साहका अनुसार विश्व विद्यालयका पदाधिकारीहरुले स्रोत साधनको दुरुपयोग गरेर चरम भ्रष्टाचार गरिरहेका छन् ।
विश्वविद्यालयको भौतिक संरचना, आवश्यक पुर्वाधारसहित शैक्षिक तथा प्राज्ञिक गतिविधिमा सुधार, विश्वविद्यालयको पदाधिकारी, कर्मचारी तथा प्राध्यापकको भर्ना प्रक्रिया पारदर्शी हुनुपर्ने माग संघको तर्फबाट राखिएको उनले बताए । ‘दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक शैक्षिक पूर्वाधार तर्जुमा गरी पाठ्यक्रम तथा कार्यक्रम लागू गर्नुपर्ने र उच्च शिक्षा अध्ययन अनुसन्धानका लागि विश्वविद्यालयको गुरुयोजना तयार गर्नुपर्ने लगायतका माग प्राध्यापक संघको छ,’ उनले भने ।
पुस २७ गते विभिन्न मागसहित संघले उपकुलपति भरत झालाई अल्टिमेटम पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रप्रति प्रशासनले सुनुवाई नगरेपछि रजिष्टार, डिन सहितको कार्यालयमा तालाबन्दी गरिएको प्रा. साहले बताए । क्याम्पसको प्रशासनमा तालाबन्दी भएपछि विश्वविद्यालयका प्रशासनिक कामकाज अवरुद्ध भएको छ ।
प्रकाशित समय १४:०६ बजे

















