गृहपृष्ठ नागरिक संगठनले आर्थिक समृद्धिको एजेण्डा ल्याउनुपर्छ : मन्त्री रावल
नागरिक संगठनले आर्थिक समृद्धिको एजेण्डा ल्याउनुपर्छ : मन्त्री रावल
नागरिक संगठनले आर्थिक समृद्धिको एजेण्डा ल्याउनुपर्ने कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताएका छन् । बिहीबार गोगो फाउण्डेशनले आयोजना गरेको ‘नागरिक संस्थासम्बन्धी कानुनी संरचना र सवाल’ विषयक कर्णाली प्रदेशस्तरीय सांसद-नागरिक संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेपालमा नागरिक संगठनलाई नियन्त्रण गर्नुपर्ने केही नभएको भन्दै मन्त्री रावलले पुरानै शैली धेरै भएको बताए । ‘नागरिक संगठनले लोकतन्त्रलाई संस्थागत गर्नेदेखि नागरिकलाई थुप्रै सचेतना फैलाएका छन्,’ उनले भने, ‘तर अब नागरिक संगठन आर्थिक समृद्धिको एजेण्डा बोकेर हिँड्नुपर्छ ।’
नागरिक संगठनले राज्यलाई र राज्यले नागरिक संगठनलाई आरोप लगाउन नहुने उनको धारणा थियो । जनताको पक्षमा नागरिक संगठनलाई व्यवस्थित गर्न जरुरी भएको मन्त्री रावलले बताए । ‘हामी नागरिक संगठनसँग सहकार्य गर्न तयार छौँ,’ उनले थपे, ‘तर प्रदेश सरकारले तयार गरेको प्राथमिकतामा नागरिक संगठन हिँड्नुपर्छ ।’ लोकतन्त्रका आधारभूत मान र मर्यादा नमार्नेगरी नागरिक संगठन हिँड्नुपर्ने मन्त्री रावलको भनाइ थियो ।
नागरिक संगठनको तर्फबाट बोल्दै अधिवक्ता गणेश वलीले राज्य अझै पनि नागरिक संगठनलाई नियन्त्रण गर्ने सोचमा भएको बताए । उनले नागरिक संगठन राज्यको उपस्थितिसमेत नभएको ठाँउमा पुगेको भन्दै यसमा राज्यको समन्वयकारी भूमिका हुनुपर्ने बताए ।
त्यस्तै गैरसरकारी महासंघ कर्णाली प्रदेशका अध्यक्ष हरिप्रसाद अधिकारीले नागरिक संगठन सरकारको विरोधी नभई सहयोगी भएको बताए । हरेक क्रियाकलापमा समन्वयकारी भूमिकामा नागरिक संगठन बस्न चाहेको उनको भनाइ थियो ।
कर्णाली प्रदेशसभा सांसद सुशीलकुमार थापाले नागरिक संगठनको खर्च गर्ने शैलीप्रति आमबुझाइ फरक भएको बताए । उनले नागरिक संगठन सरकारलाई अपरिहार्य भए पनि केही व्यवहारहरु परिवर्तन गर्नुपर्ने बताए । कार्यक्रममा कर्णाली प्रदेश सभाका सांसदहरु र नागरिक अगुवाहरुको सहभागिता थियो ।
प्रकाशित समय १७:३० बजे

















