गृहपृष्ठ एमसीसीबारे पार्टीभित्र एकमत छ, जसरी पनि पास हुन्छ : मन्त्री भट्ट
एमसीसीबारे पार्टीभित्र एकमत छ, जसरी पनि पास हुन्छ : मन्त्री भट्ट
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले संसदबाट जसरी पनि एमसीसी पास हुने दावी गरेका छन् । औद्योगिक क्षेत्रको निरीक्षणका लागि मन्त्रालयको टोलीसहित गृहप्रदेश सुदूरपश्चिम आएका मन्त्री भट्टले पार्टीभित्र विवाद भए पनि छलफलपछि एमसीसी पास हुने बताए ।
पार्टीभित्र कुनै पनि विषयमा छलफल र बहस हुनु नौलो कुरा नभएको मन्त्री भट्टको भनाइ थियो । ‘एमसीसीको विषयमा अध्ययन गर्न पार्टीले कार्यदल बनाएको छ । कार्यदलको सुझावअनुसार नै पार्टी अगाडि बढ्छ,’ उनले भने । एमसीसीको विषयमा पार्टीभित्र एकमत रहेको उल्लेख गर्दै मन्त्री भट्टले कार्यकर्तामा सो विषयले चर्चा पाउनु सामान्य रहेको बताए । उनका अनुसार एमसीसीलाई सिधै वा परिमार्जन गरेर पास गर्ने भन्ने कुरा कार्यदललाई जिम्मा दिइएको छ ।
बिहीबार गेटा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भट्टले यस क्षेत्रका विशेष आर्थिक क्षेत्र, औद्योेगिक क्षेत्रहरुको अवलोकन गर्न मन्त्रालयको सचिवस्तरीय टोलीसहित सुदूरपश्चिम आएको बताए । ‘कैलालीको हरैयामा रहेको विशेष आर्थिक क्षेत्र, कञ्चनपुरको छेलामा रहेको औद्योगिक क्षेत्र, दोधारा चाँदनी सुख्खा बन्दरगाह लगायतका क्षेत्रको स्थलगत अध्ययन गर्न मन्त्रालयको टोली लिएर आएको हुँ,’ उनले भने ।
विशेष गरेर झलारीको छेला, दोधारा चाँदनीको सुख्खा बन्दरगाहको योजनालाई छिटोभन्दा छिटो कार्यान्वयन गर्न सकिन्छ भनेर अध्ययन गरिरहेका मन्त्री भट्टको भनाइ थियो । उनले भने, ‘कैलालीको हरैया आर्थिक क्षेत्र र डुडेझारी औद्योगिक क्षेत्रको पनि अध्ययन गर्ने र त्यही अध्ययनको आधारमा रिपोर्ट तयार पार्ने छौँ ।’
गेटा-धनगढी रोडमा पनि औद्योगिक करिडोरको कामलाई चाँडै अगाडि बढाइने मन्त्री भट्टले बताए । उनले गेटा मेडिकल कलेजको साञ्चालन विधिका बारेमा छलफल भइरहेको जानकारी दिए । उनले यस क्षेत्रका जनताको आवश्यकताबमोजिम मेडिकल कलेजलाई स्वायत्त प्रतिष्ठानको रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।
प्रकाशित समय १७:१४ बजे
















