गृहपृष्ठ कोटेश्वर-कलंकी सडक : अझै सम्पन्न भएन ‘सर्भिस ट्रयाक’
कोटेश्वर-कलंकी सडक : अझै सम्पन्न भएन ‘सर्भिस ट्रयाक’
कलंकीको अन्डरपास ।
कोटेश्वर-कलंकी सडक खण्डमा हालसम्म ‘सर्भिस ट्रयाक’ निर्माण सम्पन्न हुन सकेको छैन । सो खण्ड विस्तार कार्य सम्पन्न भएको लामो समय बितिसक्दा पनि ट्रयाकले गति लिन नसकेको हो ।
चीन सरकारले मुख्य र सहायक गरी आठ लेन सडक निर्माण गरिदिएको थियो । नेपाल सरकारले सडकको दुबैतर्फ एक-एक लेन निर्माण गर्ने गरी सम्झौता भएको थियो । सो खण्डको मर्मत दुई वर्ष पहिले सुरु भए पनि अझैसम्म सम्पन्न हुन नसकेको बताइएको छ । कतिपय स्थानमा जग्गा कारण मार्ग निर्माण हुन नसकेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।
कोटेश्वर, एकान्तकुना, बल्खु लगायतका विभिन्न स्थानमा सो समस्या रहेको योजना प्रमुख अमृतमणि रिमालले बताए । कोटेश्वर-सूर्यकोट मार्गबाट बालकुमारी पुलसम्म तीनवटा घर सडकको अधिकार क्षेत्रमा रहेका कारण मार्ग निर्माण अघि बढ्न सकिरहेको छैन ।
त्यस्तै, एकान्त कुनामा रहेको तिब्बती शरणार्थी क्याम्प पनि सडकको अधिकार क्षेत्रमा परेको छ । उनले भने, ‘यी संरचना हटाउन नसक्दासम्म हामीले चाहेर पनि सडक निर्माण गर्न सकिँदैन ।’
सडकको लम्बाइ झण्डै १० किमी रहेको छ । चीन सरकारको सहयोगमा २०७२ सालमा सो सडकको निर्माण शुरु भइ गतवर्ष सरकारलाई हस्तान्तरण गरिएको थियो । नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको सो सडकमा पर्ने तीन आकाशे पुल चीन सरकारले नै निर्माण गरिदिएको थियो ।
खसी बजारदेखि कलंकीसम्मको ‘अण्डर पास’ नेपालको पहिलो हो । चीन सरकारकै सहयोगमा कलंकीबाट धोबीखोलासम्मको सडक पनि आठ लेनमै विस्तार हुने जनाइएको छ । सो सडक खण्डमा पनि ‘सर्भिस ट्रयाक’ निर्माण गर्ने सहमति भएको सडक विभागले जनाएको छ । (रासस)
प्रकाशित समय १२:५८ बजे

















