गृहपृष्ठ प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली : प्रचार नखोज्ने व्यक्ति

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली : प्रचार नखोज्ने व्यक्ति

प्युठानको झिम्रुक गाउँपालिका १ का नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवाली सरल र प्रचार नचाहने व्यक्तिको रुपमा चिनिन्छन् । काममा दत्तचित्त भएर लाग्ने तर कतै प्रचारमा नदेखिएबाटै उनको शालीनता प्रस्ट हुन्छ । अहिलेसम्म आर्थिक विवादमा समेत तानिएका छ्नन् ।

सँगै काम गरेका प्रहरी अधिकृत पनि ज्ञवालीलाई सरल र सहयोगी व्यक्तिका रुपमा चिन्छन् । प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सिधै आईजीमा फड्को मारेका ज्ञवाली आईजीमा नियुक्त हुँदा कुनै राजनीतिक चलखेल भएन न त उनलाई कसैले अयोग्य र कार्यसम्पादन मूल्यांकनमा कम अंक ल्याएका व्यक्ति नै भने ।

प्युठानको तत्कालीन बादिकोट गाविसमा २०२२ सालमा जन्मिएका उनको बारेमा धेरैलाई जानकारी कम छ । पछि उनको परिवार दाङमा बसाइँ सरेको थियो । उनले २०४७ असारमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।

ज्ञवालीले ओकरकोटमा रहेको माविमा एसएलसी गरेपछि त्रिचन्द्र कलेजबाट आईएससी गरेका थिए । त्यसपछि कीर्तिपुर क्याम्पसबाट उच्च शिक्षा हासिल गरे । मन्त्रिपरिषद्ले आईजी नियुक्त गर्दा सामाजिक सञ्जालमा उनको प्रशंसामात्रै देखिनुले पनि उनको व्यक्तित्व झल्किन्छ ।

विगतमा प्रहरी महानिरीक्षक नियुक्तिको विषय अदालतमा पुगेको थियो । कनिष्ठलाई नियुक्ति गरिएको भन्दै कतिपय प्रहरी अधिकृतले राजीनामा दिएको उदाहरण छ । तर, यसपटक निर्विकल्प उनको नाम गएको एक प्रहरी अधिकृतले बताए । चार वर्षअघि जयबहादुर चन्द आईजी हुँदा प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल अदालत पुगेका थिए । उपेन्द्रकान्त अर्याल आईजी हुँदा पनि प्रहरीमा विवाद बल्झिएको थियो । वर्तमान आईजी सर्वेन्द्र खनाल डिआईजीबाट बढुवा हुँदा तत्कालीन डिआईजी रमेश खरेलले राजीनामा दिए ।

नवनियुक्त आईजी ज्ञवाली २०५८ सालमा डीएसपी थिए । २०६६ सालमा एसपी, २०७३ सालमा एसएसपी भएका उनी १०७५ असोजमा डीआईजीमा बढुवा भएका थिए । उनका भाइ श्यामलाल ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा एसएसपी छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रहरी महानिरीक्षकको सचिवालय र नेपालगन्ज तालिम केन्द्रसहित दाङ, बारा, झापा, रुपन्देही, रुकुमलगायत ठाउँमा काम गरेको अनुभव उनीसँग छ । उनले २०४६ माघमा वर्तमान प्रहरी महानिरीक्षक खनालसँगै परीक्षा दिँदा वैकल्पिकमा नाम निकालेका थिए ।

त्यसकारण पाँच महिना ढिला गरी २०४७ असारमा उनी प्रहरी सेवामा लागेका थिए । अहिले प्रहरी महानिरीक्षक खनालसहित तीन एआईजीले अवकाश पाएपछि उनी सिधै डिआईजीबाट बढुवा भएर आईजी बनेका हुन् ।

शान्ति सुरक्षा र कानुन कार्यान्वयन पहिलो काम

नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले कानुन कार्यान्वयमा दत्तचित्त भएर प्रहरी संगठनलाई अगाडि बढाउने बताएका छन् । कार्यभार सम्हालेपछि भावी कार्ययोजना बनाएर अघि बढ्ने उनले जानकारी दिए । ज्ञवालीले गृह मन्त्रालयले तय गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा नै आफ्नो जोड रहने बताए । ‘समाजमा शान्ति कायम गर्नु पहिलो प्राथमिकता हुनेछ,’ उनले भने,  ‘नेपाल प्रहरीले गर्ने भनेको गृह मन्त्रालयको नीति तथा कार्यक्रम लागू गर्ने हो, त्यसमा कुनै कसर बाँकी रहने छैन ।’

समाजमा शान्ति सुरक्षा प्रदान गरी नागरिकको सुरक्षामा प्रहरी संगठन हरतहरले लाग्दै आएको र आगामी दिनमा लाग्ने बताउँदै उनले आफू आईजी नियुक्त हुनुलाई नियमित प्रक्रियाको रुपमा लिएको प्रतिक्रिया दिए । (नारायण ढुंगाना/रासस)

प्रकाशित समय २१:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु