गृहपृष्ठ तराईमा आज पनि होली मनाइँदै, युवाको आकर्षणमा ‘मट्का फोर’
तराईमा आज पनि होली मनाइँदै, युवाको आकर्षणमा ‘मट्का फोर’
रङ लगाएर आपसी प्रेम र सद्भाव दर्साउने मिथिलाञ्चलको महान पर्व होली जनकपुरसहित तराई क्षेत्रमा बुधबार पनि मनाइँदैछ । १५ दिने मिथिला माध्यमिकी परिक्रममा सम्पन्न भएको भोलिपल्ट होली मनाउने यस क्षेत्रमा परम्परा छ ।
होली पर्व मनाउन जनकपुरको विभिन्न स्थानमा युवाहरुले मटकाफोर (माटोको घैला फुटाल्ने खेल) कार्यक्रमको आयोजना गरेका छन् । तराईमा मटकाफोर होलीको मुख्य आकर्षण हो । कार्यक्रमको आयोजना गरी स्थानीय संघसंस्थाले होलीको शुभकामना साटासाट गरिरहेका छन् ।
मिथिलाञ्चल क्षेत्रमा बिहानैदेखि होलीको माहौल छ । बजारपसलमा भीडभाड देखिएको छ । यद्यपि गत वर्षहरुको तुलनामा भने तराई क्षेत्रमा पनि होलीको चहलपहल घटेको हो । कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै जमघट गरेर होली नखेल्न गृह मन्त्रालय र स्थानीय प्रशासनले सूचना जारी गरेपछि यो वर्ष होलीको रौनक केही कम छ ।
प्रदेश २ सरकारले मंगलबार र बुधबार होली पर्वको बिदा दिएको छ । हिमाली तथा पहाडी क्षेत्रमा भने फागु पूर्णिमाकै दिन अर्थात सोमबार नै होली मनाइएको थियो ।

प्रकाशित समय १३:५९ बजे

















