गृहपृष्ठ ‘गर्भवती बनाएर’ बिहे नगरेपछि युवतीको बिचल्ली, गर्भ तुहाउन दबाब

‘गर्भवती बनाएर’ बिहे नगरेपछि युवतीको बिचल्ली, गर्भ तुहाउन दबाब

महिला अधिकारकर्मीबाट पनि बेवास्ता

rape newskarobar सांकेतिक तस्बिर ।

प्रेमीले बिहेको प्रलोभन दिँदै ‘गर्भवती बनाएर’ बिहे नगरेपछि धनुषामा २० वर्षीया युवतीको बिचल्ली भएको छ । चार महिनाको गर्भ लिएर उनी जिल्ला प्रहरी कार्यालयलगायत सरोकारवाला निकायमा न्याय माग्दै दुई महिनादेखि भौंतारिइरहेकी छन् । आफूलाई बिहेको प्रलोभन देखाएर गर्भ बोकाएको र अहिले दायित्वबाट पन्छिएको उनको आरोप छ ।

जलेश्वर नगरपालिका घर भई अध्ययनका लागि जनकपुरधाम उपमहानगरपालिका बस्दै आएकी युवतीले माघ पहिलो साता जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकी छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थायी घर भई मोबाइल पसलमा जागिर खाँदै आएका जनकपुरधाम ४ बस्ने शिवराज श्रेष्ठले बिहे गर्ने प्रलोभन देखाएर गर्भवती बनाएको उजुरीमा उल्लेख छ ।

बिहे गर्ने भन्दै आफूले काम गर्ने अफिसदेखि आफ्नो आमा, बुबा र बहिनीसँग समेत चिनजान गराएपछि उनको डेरामा २० दिन बसेको युवतीले बताएकी छन् । पहिलेदेखि आफूलाई बिहे गर्ने भने पनि अहिले भाग्ने गरेको र चिन्दिन भन्ने गरेको दुखेसो उनले गरिन् । ‘अहिले दिनहुँ मानसिक तनाव दिँदै आएको छ,’ उनले भनिन्, ‘चार महिनाको गर्भ तुहाउन आफ्नो घर-परिवार र केटा पक्षले दबाब दिइरहेका छन् ।’

प्रहरी, मानव अधिकारकर्मी, महिला अधिकारकर्मीले समेत आफूलाई मिलेर बस्न आग्रह मात्रै गर्ने गरेको तर पीडकलाई आफूसामु उपस्थित गराउन कुनै पहल नगरेको उनको गुनासो छ । ‘न्यायका लागि सम्बन्धित निकायमा डेढ महिनादेखि धाइरहेकी छु,’ उनले भनिन्, ‘चारैतिरबाट गर्भ तुहाउन दबाब मात्र छ, आफूलाई माया गर्ने प्रेमी निष्ठुरी भएको छ, आमा, बुबा र घर-परिवार समाजमा इज्जत डुबाएको भनेर तनावमा हुनुहुन्छ ।’ उनी अहिले साथीको घरमा डेरा गरी बसेकी छन् ।

प्रकाशित समय १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु