गृहपृष्ठ कोरोना प्रभाव : लामो दूरीका सवारी आवागमन रोकियो
कोरोना प्रभाव : लामो दूरीका सवारी आवागमन रोकियो
कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ख्याल गर्दै आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ ।
सरकारको आजदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आइतबार बसेको बैठकले आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोक्ने निर्णय गरेको थियो ।
सवारीसाधनमा हुने भीडभाडका कारण सो भाइरसको संक्रमणको जोखिम बढ्ने जनाउँदै सरकारले चैत २१ गतेसम्म सार्वजनिक सवारीसाधन रोक्ने निर्णय गरेको थियो ।
महासंघका महासचिव सरोज सिटौलाले सरकारले गरेको निर्णयअनुसार नै लामो दूरीका सवारीसाधन आइतबार राति १२ बजेदेखि रोकिएको जानकारी दिए ।
‘काठमाडौँ उपत्यकामा र छोटो दूरीमा चल्ने सवारीसाधन भने रोकिएका छैनन्, लामो दूरी कतिलाई मान्ने भन्नेबारे आज मन्त्रालयमा बैठक बस्दैछ,’ उनले भने । कलङ्कीका स्थानीय व्यवसायी वीरेन्द्र घिमिरेले पोखरा, चितवन, गोेरखा, धादिङ, लमजुङ जाने सार्वजनिक सवारीसाधन फाट्टफुट्टरुपमा सञ्चालन भइरहेको जानकारी दिए ।
प्रकाशित समय १०:०९ बजे

















