गृहपृष्ठ सुदूरपश्चिममा कोरोनाविरूद्ध तयारी : ७ सय क्षमताको अस्थायी क्वारेन्टाइन
सुदूरपश्चिममा कोरोनाविरूद्ध तयारी : ७ सय क्षमताको अस्थायी क्वारेन्टाइन
फाइल तस्बिर
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ अर्थात कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउँदै आइसोलेसन कक्ष तथा क्वारेन्टाइन धमाधम निर्माण भइरहेका छन् । धनगढीस्थित रंगशालामा पनि अस्थायी क्वारेन्टाइन स्थापना गरिएको छ ।
नेपाली सेनाको सहयोगमा प्रदेश सरकारले ४० जना क्षमताको अस्थायी क्वारेन्टाइन निर्माण गरेको हो । रंगशालामा रहेका हल र सम्पूर्ण कोठाहरुमा पनि क्वारेन्टाइन तथा आइसोलेसन कक्ष निर्माण भइरहेको प्रदेश सरकारले जनाएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा यसअघि १ सय शैय्याको क्वारेन्टाइन स्थापना भइसकेको छ ।
धनगढीकै प्राविधिक शिक्षालयको छात्रवास, गेटा आँखा अस्पताल र गेटा मेडिकल कलेजमा पनि क्वारेन्टाइन निर्माण थालिएको छ । जिल्ला समन्वय समितिको जग्गामा आइसोलेसन कक्षका लागि संरचना निर्माण सुरु गरिएको छ । हालसम्म साढे ७ सय शैय्या क्षमताको क्वारेन्टाइन तथा आइसोलेसन कक्ष निर्माणाधीन रहेको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिए ।

नेपाली सेनाको टोलीले जिल्ला समन्वय समितिको खाली जग्गामा आइसोलेसन कक्षका लागि काम गरिरहेको छ । उपलब्ध जनशक्ति र सामग्री प्रयोग गरी अधिकतम संख्यामा अस्थायी क्वारेन्टाइन बनाउन आएको निर्देशनअनुसार काम भइरहेको भवानी दल गणका गणपति प्रमुख सेनानी विकास केसीले बताए ।

प्रकाशित समय १७:३१ बजे

















