गृहपृष्ठ १ महिनाको घर भाडा नलिन आग्रह, निजी स्कुलले पनि १ महिनाको शुल्क लिन नपाउने

१ महिनाको घर भाडा नलिन आग्रह, निजी स्कुलले पनि १ महिनाको शुल्क लिन नपाउने

खाद्य सामग्रीमा १० प्रतिशत छुट दिने निर्णय

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावितलाई सरकारले विशेष राहत प्याकेज घोषणा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राहत प्याकेजसम्बन्धी निर्णय गरेको हो ।

सरकारले मजदुरलाई जीवन धान्न सक्नेगरी राहत, पर्यटन क्षेत्र, उद्योगी व्यसायीलाई राहत दिनेलगायतका राहतका कार्यक्रम सार्वजनिक गरेको छ । लकडाउन अवधिभर इन्टरनेट शुल्कमा २५ प्रतिशत छुट दिन सरकारले सेवाप्रदायकलाई निर्देशन दिएकाे छ ।

बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने, खाद्य स‌ंस्थानबाट बिक्री गर्ने खाद्य सामग्रीमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

यसैगरी मूल्य अभिवृद्धि कर, आयकर, अग्रिम कर बुझाउने समय वैशाख २५ गतेसम्म थप गर्ने, विद्युत् र खानेपानी महसुल वैशाख मसान्तसम्म बुझाउँदा जरिवाना नलाग्नेलगायत निर्णय मन्त्रिपरिषदले गरेकाे छ ।

सरकारको निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडा ।

असंगठित क्षेत्रका मजदुरसँग घरभाडा नलिन घरधनीलाई आग्रह गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेकाे सरकारका अर्थ तथा सूचना, सञ्चार प्रविधिमन्त्री एवं प्रवक्ता डा. युवराज खतिवडाले बताए । घरभाडा छुट दिए घरबहाल कर नलाग्ने व्यवस्था गर्ने सरकारको तयारी छ ।

सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले आइतबार घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क छुट दिनुपर्ने निर्णय गरेको हो ।

प्रकाशित समय २२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु