गृहपृष्ठ नेपालको आर्थिक वृद्धिदर झन्डै २ प्रतिशतले घट्ने

नेपालको आर्थिक वृद्धिदर झन्डै २ प्रतिशतले घट्ने

ADO_NewsKarobar

एसियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्ष २०७६/७७ मा कोरोनाभाइरस (कोभिड–१९)को विश्वव्यापी प्रभाव र अन्य कारणले नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमात्र रहने नयाँ प्रक्षेपण जारी गरेको छ ।

एडीबीद्वारा शुक्रबार सार्वजनिक गरिएको ‘एसियन डेभलपेन्ट बैंक आउटलूक (एडीओ)–२०२०’ मा समग्र विकासशील एसियाको वृद्धिदर २.२ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ । एसियाको उच्च आय भएका औद्योगिक अर्थव्यवस्थाबाहेक अन्य मुलुकको ५.७ प्रतिशतबाट झरेर २.४ प्रतिशतमात्रै रहने छ ।

‘कोभिड १९ को विश्वव्यापी महामारी विस्तारसहितका अन्य विभिन्न कारणले  सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०१९ (२०७५/७६)को ७.१ प्रतिशतबाट झरेर ५.३ प्रतिशतमात्र कायम हुनेछ,’ बैंकले भनेको छ, ‘चैत ११ देखि २५ गतेसम्म लकडाउन गरिएको कारणले औद्योगिक क्षेत्र र सेवामा पार्ने असर तथा रेमिट्यान्समा हुने सम्भाव्य गिरावटले वृद्धिको सम्भावनालाई कमजोर तुल्याउने छ ।’

ढिलो भित्रिएको मनसुन, केही स्थानको बाढी र फौजी किराको प्रभावजस्ता कारणले कृषिको कम उत्पादन, विशेषतः कुल गार्हस्थ्य उत्पादनमा करिब ७ प्रतिशत योगदान दिने धानको उत्पादन कम हुँदा त्यसले समेत वृद्धिलाई असर पार्ने बैंकको ठहर छ ।

कोभिड–१९को विश्वव्यापी प्रकोपले गर्दा सेवा क्षेत्रमा गम्भीर असर परेकोले त्यसले आर्थिक वृद्धिमा प्रभाव परेको, यही महामारीले गर्दा आन्तरिक माग कमजोर भएको औद्योगिक उत्पादन सुस्त भएको भन्दै नेपालको आर्थिक वृद्धिदर कमजोर रहने प्रक्षेपण गरेको हो ।

बैंकले लकडाउनका कारण अत्यावश्यक वस्तु तथा सेवाबाहेक औद्योगिक उत्पादनको माग र आपूर्ति दुवैमा कमी आएको जनाएको छ ।

भूकम्पपछिको पुनर्निर्माणका कारण बढेको सिमेन्ट, फलाम, स्टिल, इँटालगायतका औद्योगिक उत्पादन माग घट्दै गएका कारण क्षमताभन्दा कम उत्पादन भइरहेको बैंकको विश्लेषणमा उल्लेख छ ।

प्रकाशित समय १०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु