गृहपृष्ठ लकडाउनमा ठोरी नागरिक समाज विजयबस्तीको निरन्तर सहयोग

लकडाउनमा ठोरी नागरिक समाज विजयबस्तीको निरन्तर सहयोग

कोरोनाभाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेसँगै काठमाडौँलगायत देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । आवतजावतको सन्दर्भमा ग्रामीण जनजीवनमा लकडाउनको प्रभाव खासै देखिएको तर ज्याला मजदुरी गरेर जीवनयापन गरिरहेकाहरुको दैनिकी भने कष्टकर बन्दै गएको छ ।

धेरै मानिस राजधानीबाट सात‑दस दिन लगाएर गाउँ फर्किसके । कतिपय फर्किरहेका छन् । राजधानीबाट फर्किनेका लागि होस् या ग्रामीण क्षेत्रमै रहेकाहरूका लागि होस्, ग्रामीण जनजीवनमा जोडिने भावनात्मक नाता धेरैका लागि उदाहरणीय बन्ने गर्छन्, खासगरी सहरी क्षेत्रका बासिन्दाका लागि । हामीले धुलिखेल देख्यौँ, जहाँ काठमाडौँबाट विभिन्न जिल्ला हुँदै झापासम्मको यात्रा गर्नेहरूका लागि जुत्ताचप्पल, पानी, चाउचाउलगायतका सामग्री सडकमै राखिएको थियो । सक्नेहरूले मात्र होइन, नसक्नेहरुले पनि मनैबाट सहयोग गरे ।

निरन्तर सहयोग

यस्तै निरन्तर सहयोग भइरहेको छ, पर्साको ठोरीमा पनि । अधिकांश क्षेत्र भारतसँग जोडिएको ठोरीमा सरकारले लकडाउन सुरु गरेको पर्सिपल्ट चैत १३ गतेदेखि नै ठोरी नागरिक समाज विजयबस्ती स्थानीय बासिन्दासँग जोडिन थालेको हो । समाजले अहिलेसम्म राहत संकलन, वितरणलगायतका कार्यलाई जारी राखेको छ ।

समाजले चैत १३ गतेदेखि नै रामनगर, ब्रह्मानगर, निर्मलबस्ती, मालीबस्ती, गोपीबस्ती, गुम्बालाइनलगायतका ठाउँमा खाद्यान्न, साबुन, हात पुछ्ने रुमाल, ड्रम, टिस्यु पेपर, मास्कलगायतका सामग्री वितरण गर्दै आएको छ । राहत अपुग भए स्थानीय बासिन्दाबाट सहयोग उठाएर पनि समाज आजसम्म नागरिकका घर घर पुगिरहेको छ । नागरिक स्तरबाटै सहयोग संकलन गरी विपन्न परिवारसमक्ष पुर्‍याउन दिनरात नभनी लागेको समाजका सदस्य बताउँछन् ।

विपन्न परिवारदेखि आर्थिक अवस्था कमजोर नभएकासम्मलाई खाद्यान्न वितरण तथा सहजीकरणका लागि समाजले काम गरिरहेको छ । नागरिक समाजका सन्तोष श्रेष्ठ, तत्कालीन निर्मलबस्ती गाविसका पूर्वअध्यक्ष लालबहादुर श्रेष्ठलगायतले राहत संकलन तथा वितरणका लागि सहजीकरण गरिरहेका छन् ।

समाजले भीडभाड नहुने गरी व्यक्तिगत रुपमा भेटेर सामग्री वितरण गरिरहेको सन्तोष बताउँछन् । ‘कोरोनाभाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको अवस्थामा पनि अत्यावश्यक सुरक्षा तथा खाद्यान्न अभावको समस्या नहोस् भनेर लागिरहेका छौँ,’ उनले भने, ‘यो संकटको घडीमा सबैबाट सहयोगको अपेक्षा गरेका छौँ ।’

त्यस्तै पूर्वअध्यक्ष लालबहादुर संकटको घडीमा हुनेले नहुलेलाई सहयोग गर्नु नै सच्चा मावन धर्म भएको बताउँछन् । ‘अहिले नेपाल मात्र होइन, विश्व संकटमा छ, यस्तो बेलामा सरकारले मात्र गरेर सम्भव हुँदैन,’ उनी भन्छन्, ‘तीनै तहका सरकार, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मीलगायतको साझा पहल भए मात्र यस्ता संकटबाट सहजै पार पाउन सकिन्छ ।’

समाजले लकडाउनको समयमा ठोरी गाउँपालिकामा खाद्यान्न अभाव भएका परिवारलाई चामल, दाल, नुनलगायतका सामग्री निःशुल्क वितरण पनि गरिरहेको छ । खाद्यान्न जोहोलगायतका लागि स्थानीयले घरबाहिर निस्कन नपरोस् र बालबच्चा एवं वृद्धलाई संकटको समयमा बचाउन सकियोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको समाजका अर्का सदस्य प्रेम श्रेष्ठले बताए ।

ठोरीबाहिरबाट पनि सहयोग

समाजलाई काठमाडौँ कार्यक्षेत्र बनाएका ठोरीका बासिन्दाले पनि सहयोग गरेका छन् । साविक निर्मलबस्ती गाविस घर भएकी शान्ति रिजालले समाजलाई २० हजार रुपैयाँ सहयोग गरेकी हुन् । उनी काठमाडौँ बस्छिन् । त्यस्तै विजयबस्ती स्थायी घर भई हाल काठमाडौँ बस्ने राष्ट्रिय बिमा संस्थानका पदमबहादुर श्रेष्ठले पनि २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

विजयबस्ती स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका व्यवसायी अञ्जान शाक्यले १५ सय थान सर्जिकल मास्क दिएका थिए । त्यस्तै सुवर्ण नेवा खल: ले पनि समाजलाई साबुन उपलब्ध गराएको छ । त्यस्तै सिमरा बस्ने युवा समाजसेवी थिरबाबु श्रेष्ठको पहलमा एक लाख रूपैयाँबराबरको २४ क्विन्टल चामल सहयोग भएको छ । मानवअधिकार एवं शान्ति समाजका कोअर्डिनेटर तथा उपहार इलेक्ट्रोनिक सिमराका प्रोप्राइटर हुन् । त्यस्तै सिमरा बस्ने विजयबस्तीका युवाले पनि २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

समाजले कोरोनाभाइरसको यो महासंकटमा यथासक्य सहयोग गर्न र अतिविपन्न परिवारलाई निःशुल्क राहत लिन आग्रह गरेको छ । समाजले वृद्धाश्रम र आगलागी पीडितलाई पनि खाद्यान्न र राहत सामग्री वितरण गको छ । आश्रमका सञ्चालक आशबहादुर गुरुङले आपतको बेलामा भएको सहयोगले ठूलो राहत मिलेको बताए । आश्रममा २५ जना वृद्धवृद्धा छन् । अतिविपन्न ठोरीबासीलाई सहयोग गर्न चलाइएको अभियानमा प्रवासी नेपालीले पनि सहयोगको प्रतिबद्धता जनाएका छन् ।

विपन्नलाई निःशुल्क सम्पनलाई सशुल्क

लकडाउन लम्बिँदै जाँदा समाजले विजयबस्तीमा सुपथ मूल्यको किराना पसल सञ्चालनमा ल्याएको छ । समाजका सदस्य नरबहादुर श्रेष्ठ प्रोप्राइटर रहेको उमेश किराना पसलबाट दैनिक उपभोग्य बस्तु र खाद्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराउन थालिको हो । पसलबाट चामल बजार भाउभन्दा डेढ सय रुपैयाँ सस्तो दिइएको अभियन्ता सन्तोषले बताए ।

समाजले ठोरीका विपन्न ८२ परिवार, ठोरी २ का ११ परिवार, ठोरी ३ का ७० घर, ठोरी ४ का ५० परिवार र सुवर्णपुरका २१ परिवारलाई खाद्यान्नलगायतका सामग्री निःशुल्क वितरण गरेको छ । अभियन्ता सन्तोषका अनुसार ९९० रूपैयाँमा एक बोरा मन्सुली चामल किनबेचको व्यवस्था मिलाइएको छ । समाजले किन्न सक्ने क्षमता भएकाहरूलाई सुपथ मूल्यमा चामल उपलब्ध गराएको छ ।

किटनासक औषधि स्पे

समाजको सक्रियताम विजयबस्तीको प्रहकी चौकी र स्वास्थ्य चौकीबाट किटनासक औषधी स्प्रे गरिएको छ । कोरोनाभाइरस संक्रमणको जोखिम बढिरहेका बेला भुसुना, लामखुट्टेलगायतका कारण अरु समस्या नथपियोस् भन्नका लागि किटनासक औषधी स्प्रे गरिएको हो । किटनासक औषधी स्प्रे गरेपछि लामखुट्टे तथा भुसुनाबाट राहत मिलेको खानेपानी टोलका मीनबहादुर श्रेष्ठले बताए ।

सशस्त्रलाई पनि सहयोग

समाजले सशस्त्र प्रहरी सीमा सुरक्षा बल अस्थायी बोर्डर आउट पोस्टलाई पनि सहयोग गरेको छ । कोरोना संक्रमित भित्रिन सक्ने आशंकामा सरकारले नेपाल‑भारत सीमाबाट आवतजावत ठप्प पारेपछि ठोरी सीमा क्षेत्रमा तीन वटा अस्थायी पोस्ट बनाएको छ । तर, तीनवटै पोस्टमा न्यूनतम् सुविधा पनि नरहेकाले आवश्यक सहयोग गर्नुपरेको अभियन्ता लालबहादुर श्रेष्ठले जानकारी दिए । ‘पोस्ट छन् तर बस्ने ठाउँको पनि बिजोग छ, बत्तीको पनि व्यवस्था छैन,’ उनले भने, ‘त्यसैले हामी सहयोगका लागि अघि बढेका हौँ ।’

प्रकाशित समय १४:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु