गृहपृष्ठ पश्चिम नेपालका ६ जिल्लामा डिसिएको ६५ लाख सहयोग
पश्चिम नेपालका ६ जिल्लामा डिसिएको ६५ लाख सहयोग
डेनमार्कको गैरसरकारी संस्था डिसिए नेपालले स्थानीय संस्थाहरुको सहकार्यमा विभिन्न जिल्लामा करिब ६५ लाख रुपैयाँबराबरको राहत तथा स्वास्थ्य सामग्रीको वितरण गरेको छ । डिसिए नेपालले कञ्चनपुर, बर्दिया, बाँके, दैलेख, कैलाली र डोटीका १ हजार ५६६ घरपरिवारलाई स्थानीय सरकारले तोकेबमोजिमको खाद्य सामग्री वितरण गरेको हो ।
त्यस्तै विभिन्न स्थानीय तहको समन्वयमा क्वारेन्टिनका लागि १४० शय्या बनाउन पुग्ने सामग्री, ५७ पिपिई सेट, १२ थर्मल गन, २७१ लिटर स्यानिटाइजर, १६१ प्याकेट चिकित्सा ग्लोभ्स, १ हजार ७६३ स्यानेटरी प्याड, १० हजार ६२० वटा साबुन र सय सेट बाल्टिन र जग वितरण गरेको डिसिए नेपालले जनाएको छ ।
‘सरकारले तोकेको एकद्वार प्रणालीमार्फत नै सबै सामग्री स्थानीय तहहरुलाई हस्तान्तरण गरेका हौं,’ डिसिए नेपालका ‘मानवीय सहायता तथा विपद् जोखिम न्यूनीकरण प्रबन्धक दिनेश गुरुङले भने, ‘पहिलो चरणमा स्थानीय तहहरुको अनुरोध र मागअनुसार नै सहयोग गरेका छौं, थप सहयोग पनि सोहीअनुसार गर्नेछौं ।’
डिसिएले थप सहयोगका लागि पालिकाहरुसँग समन्वय भइरहेको बताएको छ । ‘सरकारले आफ्नो क्षेत्रबाट गर्न सक्ने काम गरिरहेको छ । तर यो महामारीसँग लड्न सरकारको एक्लो प्रयासले पुग्दैन, त्यसैले हामीले अपिल गरेअनुसार नै उहाँहरुले सहयोग गरिरहनुभएको छ,’ दैलेखको आठबिस नगरपालिका प्रमुख खड्गराज उपाध्यायले भने ।
प्रकाशित समय १९:४९ बजे

















