गृहपृष्ठ एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष भुसाल मृत फेला
एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष भुसाल मृत फेला
निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत अवस्थामा फेला परेका छन् । कैलालीको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालकसमेत रहेका भुसालको शव बिहीबार राति भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गौरीगंगा नगरपालिका ९ बस्ने ४० वर्षीय भुसालको शव घोडाघोडी नगरपालिका १० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिममा फेला परेको हो । प्रहरीका अनुसार उनको आँखा, मुख र घुँडामा चोट देखिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनले बताए ।
इलाका प्रहरी कार्यालय मालाखतीका प्रहरी नायव उपरीक्षक ज्ञानवहादुर विष्टको टोलीले घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए । स्थानीय बासीले भने उनको हत्या भएको भन्दै दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।
प्रकाशित समय १४:११ बजे

















