गृहपृष्ठ निरन्तर जिम्मेवारीमा तीन ‘कर्मी’
निरन्तर जिम्मेवारीमा तीन ‘कर्मी’
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट नेपाल पनि अछुतो छैन । नेपालमा हालसम्म ४९ जना संक्रमित भएका छन् । देशभर पूर्ण रुपमा लकडाउन घोषणा गरिएको छ । यो अवस्थामा अत्यावश्यक बाहेकका सम्पूर्ण कार्यालय तथा कामहरु बन्द छन् । यो अवस्थामा देशका तीन सेवामा कार्यरत व्यक्तिहरु ज्यान नै जोखिममा राखेर काममा निरन्तर खटेका छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीले यो विषम परिस्थितिमा पनि अहोरात्र कार्यभार सम्हालिरहेका छन् ।
अरुलाई घरमै बसेर लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै उक्त तीन क्षेत्रमा कार्यरत व्यक्तिहरु भने आफ्नो दैनिक काममा निरन्तर जुटिरहेका छन् । आवश्यक श्रोतसाधन अभावमै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीले सेवालाई निरन्तरता दिइरहेका छन् ।

हाल सुदूरपश्चिम प्रदेशमा ४ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । आफ्नो तर्फबाट सुरक्षित रहेर स्वास्थ्यकर्मीले काम गरिरहे पनि जोखिम कायमै रहेको अस्पतालका फिजिसियन डा. निराजनदत्त शर्मा पौडेलले बताउँछन् । यो बेला चुनौती र अवसर दुईवटै बराबर रहेको उनको बुझाइ छ ।
जनतालाई लकडाउनको पालना गराउनेदेखि समाजमा अपराधिक गतिविधि हुनबाट रोक्न अहिले सुरक्षाकर्मीहरु अहोरात्र सेवामा तैनाथ छन् । सशस्त्र प्रहरीले सीमा क्षेत्रसँगै लकडाउनको पूर्ण पालना गराउन ड्यूटी निभाइरहेको छ भने नेपाल प्रहरीले पनि उत्तिकै जोखिम मोलेर कार्य क्षेत्र जिम्मेवारी वहन गरिरहेको छ । सीमा क्षेत्रमा होस् या लकडाउन पालना गराउनमा खटिने सुरक्षाकर्मी जोखिममै छन् । सबैसँग पर्याप्त मास्क, सेनिटाइजर तथा ग्लोभ अभाव छ । यसका वावजुद पनि सुरक्षाकर्मीहरु देश र जनताको सुरक्षार्थ क्रियाशील रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेत बताउँछन् ।

स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीजस्तै जनतासमक्ष सत्य तथ्य सूचना पर्वाह गर्नका लागि सञ्चारकर्मीले पनि उत्तिकै भूमिका निभाइ रहेका छन् । दैनिक आफ्नो कामलाई निरन्तरता दिँदै लकडाउनका बेला पनि सञ्चारकर्मीहरु जनतालाई सूसुचित गराउने कार्यमा आफूलाई क्रियाशील बनाएका छन् । कोरोना संक्रमणका बिच ज्यान जोखिममै राखेर काम गरिरहेका सञ्चारकर्मीलाई पत्रकार महासंघले पनि धन्यवाद दिएको छ । पत्रकारको सुरक्षाको लागि सरकारसँग माग गरिरहेको र समयमै पारिश्रमिक उपलब्ध गराउने विषयमा पहल भइरहेको पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाहले बताए । सुरक्षित रहेर रिपोर्टिङ गर्न सम्पूर्ण सञ्चारकर्मीलाई उनको आग्रह छ ।
यसका साथै बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुले पनि राष्ट्र बैंकको निर्देशनअनुसार आंशिक सेवा दिइरहेका छन् । अहिले आएर गृहमन्त्रालयले अनुमति दिएपछि ठूला आयोजनाहरुले पनि काम सूचारु गरेका छन् । जहाँ दैनिक हजारौं मजदूरहरु लकडाउनकै समयमा पनि काममा जुट्नेछन् ।

प्रकाशित समय २०:२२ बजे

















