गृहपृष्ठ कोरोना प्रभावित क्षेत्रमा मुख्यमन्त्री राई
कोरोना प्रभावित क्षेत्रमा मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोनाभाइरसविरुद्ध सबै एक भएर लाग्नु पर्ने बताएका छन् । शनिबार कोरोना प्रभावित जिल्ला उदयपुर र भोजपुर पुगेर मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।
कोरोना प्रभावित क्षेत्रका स्थानीयहरुलाई मुख्यमन्त्री राईले त्रसित नभई बस्न आग्रह गरेका छन् । ‘तपाईहरुको साथमा प्रदेश सरकार छ । नआत्ती बस्नुहोस्,’ मुख्यमन्त्री राईले भने । उनले संक्रमितको उपचार र फराकिलो ढंगले नागरिकको स्वास्थ्य परीक्षण गरिनेसमेत बताए ।
मुख्यमन्त्री राईले प्रदेशका दुईवटा कोरोना प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् । राई शनिबार स्वास्थ्य सामग्रीसहित कोरोना संक्रमित फेला परेपछि पूर्ण लकडाउन गरिएका क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् । मुख्यमन्त्रीसँग आन्तरिक मामिलामन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र नेपाली सेनाको टोली कोरोना प्रभावित क्षेत्रमा पुगेको हो ।
मुख्यमन्त्री राईको टोलीले उदयपुरको भुल्के, भोजपुरको हतुवागढी र उदयपुरको कटारी– १, बेलसोतमा रहेको क्वारेन्टिन स्थलको समेत निरीक्षण गरेको थियो । उदपयुर र भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीसमेत प्रदान गरिएको छ । त्यहाँ कोरोना भाइरस परीक्षण गर्ने स्वास्थ्य सामग्री अभाव थियो ।
मुख्यमन्त्रीले थर्मगन, पीपीई, एन–९५ माक्स, सेनिटाइजर, ग्लोभ, आरडीटी किट लगायतका स्वास्थ्य सामग्री हतुवागढी र उदयपुरका लागि दिएका हुन । प्रदेश १ मा हालसम्म ३० जनालाई कोरोना संक्रमण भएको छ ।
प्रकाशित समय २०:३५ बजे
















