गृहपृष्ठ पीडाका भूमरीबीच सुनौलो बिहानीको पर्खाइमा सीताराम

पीडाका भूमरीबीच सुनौलो बिहानीको पर्खाइमा सीताराम

'मरिहाल्न पनि सकिँदैन, बाँच्न पनि गाह्रो भो'

कसको चाहाना हुँदैन र जीवन सोचेजस्तो होस् । बाँचुञ्जेल मन खुसी रहोस् । स्वस्थ र सुखी भई बाँच्न पाऊँ । हरेकले यस्तै-यस्तै सोचेका हुन्छन् । तर विधिको विडम्वना, संसार निर्दयी छ । त्यसैले सबैको जीवन सोचेजस्तै गरी अगाडि बढिरहेको हुँदैन ।

मानिस खुसी हुन चाहँदा-चाहँदै पनि अनेक परिस्थितिहरु ‘भिलेन’ भइदिन्छ । अनि तनाव र नैराश्यताका सँगै जीवन जीउन बाध्य हुनुपर्छ । हाँसोहरु खोजिहिँड्दा आँसुहरु आइदिन्छ । अनि वनावटी हाँसो लिएर बाँच्न बाध्य हुनुपर्छ । बनावटी नै सही, मानिसहरु आफ्नो पीडा लुुकाएर हाँस्ने प्रयास गरिरहेका हुन्छन् ।

मानिसले धर्तीमा जीवन एकपटक मात्र पाउँछ । यही जीवनलाई जोकोही हाँसेरै बिताउन चाहन्छ । जीवनलाई यादगार बनाउन मानिस लागिपरेकै हुन्छन् । तर नियतिको खेल वा कर्मको फल, जेसुकै भनौँ । कमैले मात्र चाहेजस्तो जीवन बाँच्न पाउँछन् । अधिकांशले जीवनमा कुनै न कुनै कारण भएर आउने पीडा र आँसु नै झेल्ने गर्दछन् ।

कलिलो उमेरमै मिर्गौलाको विरामी

दुख भोग्ने ती अधिकांशमध्ये एक हुन् सीताराम योगी । २३ वर्ष उमेरका उनी मिर्गौलाका विरामी हुन् । यो उमेरसम्म आइपुग्दा उनलाई उमेरले भन्दा बढी भोगाइले धेरै कुरा सिकाएको छ । हाल भक्तपुरको सल्लाघारीमा बस्दै आइरहेका उनी ४ वर्षदेखि भक्तपुरकै सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डाइलासिस गराउँदै आएका छन् ।

जति बेला उनी स्वस्थ थिए, सिरहाको लाहानमा ड्राइभिङ गर्थे । जीवन राम्रैसँग चलिरहेको थियो । विस्तारै उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो । खानामा नरुच्ने, काम गर्न मन नलाग्ने, अस्वस्थ महसुस हुने लक्षण देखिएपछि उनले लाहानकै हस्पिटलमा जाँच गराए । डाक्टरले उनलाई ‘रगत र पानीको कमी छ’ भन्दै प्रशस्त पानी, फलफूल खान सल्लाह दिए । सामान्य औषधि खाएर हिँड्थे उनी । युवावस्थाका उनलाई स्वास्थ्यसम्बन्धी खासै ज्ञान पनि थिएन ।

पछि समस्या झन् बढ्दै गएपछि उनी सिन्धुली फर्किए । सिन्धुलीमा पनि उनले जाँच गराए । रगत जाँच, अल्ट्रासाउण्ड गरेपछि उनलाई त्यहाबाट काठमाडौँ मेडिकल कलेज (केएमसी) रिफर गरिदियो । केएमसीमा आएर मात्र थाहा भयो उनको मिर्गौलामा समस्या भएको रहेछ । त्यहा पनि उनलाई ‘मिर्गाैला बिग्रेको हो’ भनेर डाक्टरले भनेनन् । ‘डाक्टरहरुले मलाई मिर्गौलामा समस्या देखिएको छ, ३ महिनासम्म डाइलसिस गरेपछि ठिक हुन्छ भनेर भन्नुभयो । म उहाँहरुकै कुराको विश्वासमा थिएँ,’ योगीले भने ।

उनले आफू यो अवस्थामा पुग्छु भनेर कल्पना पनि गरेका थिएनन् । उनी भन्छन्, ‘त्यतिखेर नै मेरो मिर्गौला बिग्रिसकेको रहेछ तर डाक्टरहरुले मलाई एक्कासि त्यो कुरा सुनाउँदा चिन्ता बढी लिन्छ भनेर लुकाउनु भएको रहेछ ।’ अलि पछि मात्र उनले आफ्नो मिर्गौलामा समस्या भएको थाहा पाए । डाक्टर, नर्सहरुरुले पनि उनलाई समस्याका बारेमा सम्झाउन थाले । मिर्गौला खराब भइसकेपछि कि त फेर्नुपर्छ नभए जीवनभर डायलासिस गर्दै औषधि खानुपर्छ भन्ने सुनेपछि त्यतिबेला आफैंलाई सम्हाल्न पनि गाह्रो भएको उनले सुनाए ।

उनी अस्पतालमा हुँदा परिवार गाउँमै थिए । घरमा उनको बुवा र तीन भाइ र एक बहिनी छन् । भर्खर-भर्खर उनी विरामी हुँदा उनको आमा पनि थिए । अहिले आमाको निधन भइसकेको छ । त्यतिखेर उनी आफन्त पर्ने दिदीमार्फत अस्पताल पुगेका थिए । दिदीकै कोठामा बसेर उनले तीन महिनासम्म डायलासिस गराए ।

४ वर्षसम्म डायलासिस गर्दाको दुख

केएमसी हस्पिटलमा उनले ६ महिना डायलासिस गरे । उनले त्यहाँ एकपटकमा ७ हजारभन्दा बढी रकम तिरेर डायलासिस गर्थे । यो रकम जुटाउन सामान्य खेती किसान गर्ने उनको परिवारका लागि सधैँ सम्भव थिएन । पछि सरकारी अस्पतालमा पनि निशुल्क डाइलसिस हुन्छ भन्ने थाहा पाएपछि उनले भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डाइलासिस गर्दै आइरहेका छन् ।

मिर्गौला बिग्रेपछि बाँचुञ्जेल कि त डाइलासिस कि त प्रत्यारोपण गर्नुपर्ने हुन्छ । अरु विकल्प छैन । रोग लागेको ४ वर्षभित्रमा उनले मिर्गौलाका समस्याकाबारेमा धेरै कुरा थाहा पाइसकेका छन् । लामो समयसम्म डायलासिस गर्नु हानिकारक र जोखिमपूर्ण छ भन्ने थाहा भएर पनि उनी अहिलेसम्म यही विधि अपनाइरहेका छन् । डायलासिस भनेको मेसिनले शरीरको रगतलाई निकाल्ने र उक्त रगतलाई छानेर शरीरमै पठाउने काम हो । धेरै गाह्रो भएको खण्डमा हप्ताको तीन पटकसम्म डायलासिस गर्नुपर्ने उनी बताउँछन् । ‘मर्न पनि सकिँदैन, बाँच्न पनि गाह्रो । सास छउञ्जेल आस हुन्छ भनेजस्तै बाँच्नकै लागि उनले डाइलासिस गराइरहेछु,’ उनी भन्छन् ।

आस मात्र देखाउने आफन्तहरु

डायलासिस गरिराख्दा उनलाई धेरै पीडा हुन्थ्यो । खुट्टाहरु सुन्निने, खानामा अरुचि, वान्ता हुने, कोहीसँग पनि बोल्न मन नलाग्ने भइरहन्थ्यो । जीवनदेखि नै दिक्क थिए उनी । सँगै डायलासिस गराउने साथीहरु पनि उनलाई सम्झाउथे । परिवार गाउँमा भएकाले परिवारको साथ पाउने कुरा थिएन । फोनबाटै उनका परिवारले उनलाई हौसला दिने गर्थे । उनका आफन्तहरुले पनि उनलाई सम्झाउथे । हामी सहयोग गर्छौैं । चिन्ता भनिरहन्थे । ‘तर आफन्तहरुले सहयोग गर्छु भने मात्र, साँच्चिकै सहयोग गर्ने कोही नहुँदो रहेछ,’ योगी सुनाउँछन्, ‘भेट हुँदा मन नै हलुँगो हुनेगरी सान्त्वना पाउँदा खुसी लाथ्यो । तर गएपछि फर्केर कोही आएनन् । सबै आस देखाउनेहरु मात्र त हुँदा रहेछन् । मन भएकाहरु पाइँदैन रहेछ ।’

प्रत्यारोपणका नजिकका नातेदारले मात्र मिर्गौला दान गर्न पाउने कानुनी प्रावधान छ । त्यसमा पनि दाताको रक्त समूह मिल्न आवश्यक छ । यसका साथै एकपछि अर्को गर्दै विभिन्न स्वास्थ्य जाँचहरु गर्न लामो समय लाग्छ । परिवार र नातेदारभित्रै मिर्गौला दिन तयार हुनेहरु पाउन पनि मुस्किल नै हुनेगर्छ ।

मिर्गौला दिन्छु भन्ने आमा नै नरहेपछि

अहिलेसम्म उनका लागि मिर्गौला दिने कोही निस्किएका छैनन् । ३ वर्षअगाडि नै मिर्गौला फेर्ने कुरा थियो उनको । आमाले उनलाई मिर्गौला दिने भएकी थिइन् । रक्त समूह पनि मिलेको थियो । त्यसैले दशैैंतिहार मानेर काठमाडौँ आउने योजना बनाएका थिए उनले । भनिन्छ नि, भोलि कसले देखेको छ, भोलि जे पनि हुनसक्छ । उनको जीवनमा पनि त्यस्तै भइदियो । उनको जीवनमा नसोचेको अर्को पीडा फेरि आइलाग्यो । तिहारको समयमा उनको आमाले हृदयघातका कारण संसार छोडिन् । छोरालाई मिर्गौला दिएर बचाउँछु भन्ने आमाको इच्छा पूरा भएन ।

एकातिर आफ्नो स्वास्थ्य समस्या । अर्कोतिर आमाको वियोग । उनी भन्छन्, ‘जीवन सोचेजस्तो हैन, भोगेजस्तो चाहिँ हुँदोरहेछ । सहनै नसक्ने पीडा भोग्नुपर्दोरहेछ । मैले जे भोग्दैछु यस्तो कसैले भोग्नु नपरोस् ।’

जीवनलाई ‘जीवन’जस्तै बनाउने चाहाना

मानिसको जीवन एकैनासको हुँदैन । सुख र दुख सँगसँगै जोडिएका हुन्छन् । हरेक अँधेरी रातमा उषाको किरणको आसा सबैलाई हुन्छ । उनी पनि आफ्नो जीवनमा सुनौलो बिहानी आइदिए हुन्थ्यो ठान्छन् । अरुजस्तै स्वस्थ भएर समाजमा केही गर्न मन छ उनलाई । बाँच्न उनलाई पनि मन छ । विभिन्न रहरहरु उनको मनमा छचल्किएका छन् । उनको पनि रहर छ, जीवनलाई जीवनजस्तै बनाउन । ‘तर चाहेर मात्र नहुने रहेछ,’ उनी निराशा पोख्छन् ।

तर, आफ्नो अवस्थाका कारण मनका रहरहरु मनमै सीमित बनाउनुबाहेक बाँकी विकल्प नभएको उनी बताउँछन् । ‘जीवनमा केही गर्न नसकिने भइयो’ भन्ने कुराले उनलाई पिरोलिरहन्छ । चाहेर पनि केही गर्न नसक्दा जीवन फिका लाग्ने उनी सुनाउँछन् । हरेक दिन मृत्युनजिक अगाडि बढिरहेको ठान्छन् उनी आफ्नो जीवन यात्रालाई । जीवनलाई बचाउन चाहानु उनलाई उडिसकेको वस्तुमा रङ भर्न खोज्नु र मरुभूमिलाई हरियाली बनाउन खोज्नुजस्तै अर्थहीन हुने हो कि भन्ने लाग्छ । र त बेला-बेला जीवनबारे उनी एकाएक भावुक हुन्छन् ।

आफ्नो पीडाबारे उनी हम्मेसा अरुलाई बताउँदैनन् । ‘आफ्नो पीडा अरुलाई सुनाएर पनि के गर्नु र । सबैले सकारात्मक ढंगले बुझिदिँदैनन्,’ उनले भने । अस्पतालमा आफूसँगै डायलासिस गरेका कति साथीहरु मिर्गौला प्रत्यारोपण गराई स्वस्थ भएर गइसकेका छन् । धेरैले नयाँ जीवन सुरुवात गरिसकेका छन् । तर उनी भने अहिलेसम्म पनि त्यही डायलासिस मात्र गरेर बसिरहेका छन् । उनलाई यस्तो अवस्थामा अति मन दुख्ने गर्छ । भन्छन्, ‘साथीहरु जता पनि जान पाउँछन् । घुम्न जान्छन् । तर म भने सधैँ डायलासिस गर्न आउनुपर्दा कहिले त यो पनि नगरौँ कि भन्ने पनि लाग्छ ।’ यस्तो भएर किन बाँचिरहने, केका लागि बाँचिरहनेजस्ता अनेक प्रश्नले चिमोटिन्छन् उनी । बाँचेर नि केही गर्न नसकेपछि किन बाँच्ने भन्ने लाग्छ उनलाई । तर आफ्नो मनलाई आफैँ सम्झाउँछन् उनी । ‘आफूलाई केवल आफैँले मात्र हो सम्झाउन र बुझ्न सकिने रहेछ । म पनि यसरी आफूलाई सम्हाल्दै यहाँसम्म आइपुगेको छु,’ योगी भन्छन् ।

लकडाउनले झन् समस्या

विश्वभरी फैलिएको कोरोना महामारीका कारण नेपाल लकडाउनको अवस्थामा छ । यतिबेला सामान्य मानिसको जीवन त कति कष्टकर बनिरहेको छ भने उनीजस्ता विरामीको अवस्थाबारे सहजै अनुमान लगाउन सकिन्छ । लकडाउनले उनलाई पीडामाथि झन् पीडा थपिदिएको छ, समस्यामाथि अरु समस्या थपिदिएको छ । अहिले दैनिक गुजारासमेत चलाउन धौधौ भइरहेको उनी बताउँछन् । कोठामा चामल, ग्यास सकिन लागिसकेको र लकडाउन यसरी नै थपिदै गयो भने भोकै बस्नुपर्ने दिन पनि आउनसक्ने डर र त्रासमा छन् सीताराम । उनी हिँडेर नै हप्तामा तीनपटक अस्पतालसम्म गएर डाइलासिस गरिरहेका छन् । औषधि किनेर खानसमेत उनलाई अहिले समस्या छ । ‘घरबाट पनि पैसा पठाउन सकिरहनुभएको छैन । यो बेला झन् कसरी पठाउनु ?’ घरबाट पठाउन सक्ने स्थिति नभएपछि उनको अब आसा गर्ने पनि कोही छैन । पीडा र चिन्तामै दिन कटाइरहेका छन् उनी ।

मिर्गौला फेर्न पाउने आसा जीवितै

डायलासिस त निशुल्क छ । तर यसबाहेक हप्तामा तीनपटक अस्पताल जाने-आउने गाडीभाडा, औषधि, कोठाभाडा, खाना सबै गर्दा महिनामा २५ हजार रुपैयाँ उनलाई चाहिन्छ । अहिले उनी काम गर्न सक्ने अवस्थामा पनि छैनन् । अहिलेसम्म ऋण खोजेर भए पनि उनको बुवाले उपचार गराइरहेका छन् । चार वर्षको अवधिमा उनको उपचारमा २५ लाखभन्दा बढी सकिएको छ ।

अहिले पनि उनी मिर्गौला प्रत्यारोपण गर्न खोेजिरहेका छन् । आफ्नो मिर्गौला फेर्न पाउँछु कि भन्ने उनलाई अझै पनि आसा छ । तर उनलाई मिर्गौला दिने मान्छे कोही निस्किएका छैनन् । बुवासँग उनको रक्त समूह मिलेन । तर पनि अरुसँग बुवाको मिर्गौला साटसाट गरेर आफ्नो मिर्गौला फेर्न पाउनेमा उनी आसावादी छन् । यसका लागि सबैको साथ र सहयोग प्राप्त भएमा एकदिन स्वस्थ भएर आफूले पनि देश र समाजका लागि योगदान दिने उनको संकल्प छ ।

प्रकाशित समय १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु