गृहपृष्ठ सालीसँग अवैध सम्बन्धपछि श्रीमतीको हत्या गरेको आशंका
सालीसँग अवैध सम्बन्धपछि श्रीमतीको हत्या गरेको आशंका
धनुषाको मिथिला नगरपालिका ९ लालभिती बस्ने २८ वर्षीय हरि चौहानले २४ वर्षीया श्रीमती विणा चौहान लामाको हत्या गरेको आरोपमा प्रहरीले वैशाख २१ गते गिरफ्तार गरेको छ । वैशाख १८ गते जंगल घुमाउन लैजाने बहाना बनाएर मिथिला नगरपालिका ९ स्थित लालगढको मगर्नी खोलामा सलले घाँटी थिचेर हत्या गरी पहिल्यैदेखि योजना तहत सामुदायिक वन लालगढमा खनेर राखेको खाल्डोमा शव पुरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए ।
मृतक बिणाका वुवा पदम लामाले छोरि हराएको भनी इलाका प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा श्रीमान् हरि चौहानलाई वैशाख २१ गते गिरफ्तार गरी सोधपुछ गर्दा उनकै बयानका आधारमा खोलामा गाडिएको अवस्थामा शव बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले बताए । शवको वैशाख २२ गते प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरिएको छ । शव माइती पक्षलाई बुझाइएको र दाहसंस्कारसमेत वैशाख २२ गते नै भएको प्रहरीले जनाएको छ । हरिलाई जिल्ला अदालतबाट वैशाख २२ गते नै १० दिने म्याद थप गरिएको छ ।
हत्या घटनामा संलग्न आरोपमा मृतककी कान्छी बहिनी १८ वर्षीया गंगा लामालाई समेत प्रहरीले गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको बताएको छ । हरिले श्रीमतीको हत्या गर्ने कारण कान्छी साली गंगा लामासँगको प्रेम प्रसंग उठाएकाले गर्दा गंगालाई पनि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
विणाले पति हरिको अवैध सम्बन्ध आफ्नै कान्छी बहिनीसँग भएको थाहा पाएर पति हरिलाई मानसिक यातना दिन थालेपछि आवेशमा आएर हत्या गरेको प्रहरीलाई बताएका हुन् । पेसाले गाडी चालक हरि र बिणाबीच पाँच वर्षअघि अन्तरजातीय विवाह भएको घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मृतक विणाका ४ वर्षकी एक छोरी र साढे दुई वर्षका एक छोरा छन् ।
प्रकाशित समय २०:३१ बजे

















