गृहपृष्ठ ६४ जना संक्रमित भेटिएको पर्सामा निषेधाज्ञा, सेना परिचालन गर्ने निर्णय
६४ जना संक्रमित भेटिएको पर्सामा निषेधाज्ञा, सेना परिचालन गर्ने निर्णय
६४ जनामा कोरोना संक्रमित भेटिएको पर्सामा थप संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै सेनासमेत परिचालन गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठकले बैठकले मंगलबार साँझ ८ बजेदेखि लागू हुनेगरी जेठ ५ गते मध्यरातिसम्मको लागि निषेधाज्ञा जारी गरेको छ । पर्सामा मंगलबारमात्रै ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
निषेधाज्ञाकाे बेला उपचारबाहेक अन्य अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन निषेध गरिएको छ । खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवा निषेधाज्ञामा पनि सञ्चालन गर्न पाइने छ । तर पसल, उद्योग, व्यवसाय भने खोल्न निषेध गरिएकाे छ ।
भारतसँगको सीमा नाका र खुला सिमानाको जुनसुकै स्थानबाट पनि मानिस आउन निषेध गरिएको छ । उनीहरुलाई रोक्न सुरक्षाकर्मीको व्यापक गस्ती बढाई ‘एरिया डोमिनेसन’ गर्ने निर्णय पनि प्रशासन कार्यालयले गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
पर्सा जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लामा पर्सा जिल्लाबाट हुने आवतजावत जेठ ५ गते राति १२ बजेसम्म बन्द गरिएको छ ।

प्रकाशित समय २०:५४ बजे

















