गृहपृष्ठ सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढायो
सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढायो
महाकालीमा गस्ती गर्दै सशस्त्र ।
महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ ।
लकडाउनले सीमा नाका बन्द भएपछि दार्चुलासँग सीमा जोडिएका भारतका विभिन्न ठाउँबाट नेपाली स्वदेश फर्कने क्रम जारी छ । सीमानाका बन्द हुँदा सशस्त्र प्रहरीको आँखा छलेर रातिको समयमा स्वदेश फर्कने क्रम जारी रहेपछि पछिल्लो समय निगरानी बढाएको हो ।
भारतमा लकडाउन खुकुलो भएसँगै दिल्ली र पिथौरागढबाट धमाधम नेपाली सीमा पुगेर महाकाली तर्न थालेका छन् । भारतले नै नेपाली सीमासम्म गाडीमार्फत पुर्याउने गरेको मजदुरहरु बताउँछन् । महाकाली नदीमा ट्युब र पौडी खेलेर नेपाल फर्कने लेकम र लाली क्षेत्रबाट मंगलबार ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म दार्चुलाले जनाएको छ ।
लेकममा नदी तरेर आएका सात जनालाई कृष्ण स्नातक क्याम्पस लालीको क्वारेन्टाइनमा राखिएको छ । बैतडी पुर्च्याैडीका स्थानीय भारतको पिथौरागढबाट आएका हुन् भने लेकमका स्थानीय दिल्ली हरियानी क्षेत्रबाट फर्किएका हुन् । यसैगरी मालिकार्जुन गाउँपालिकाको उकु क्षेत्रमा महाकालीमा पौडी खेलेर आएका चार जनालाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न लगाएको छ ।
चैत ११ गतेदेखि लकडाउन सुरु भएसँगै भारतसँग सीमा जोडिएका क्षेत्रमा २४सै घण्टा सशस्त्र प्रहरी खटाएको छ । वैशाख १८ गते भारतीय क्वारेन्टाइनमा बसेका नेपाली स्वदेश फर्काए पनि अवैधरूपमा स्वदेश फर्कने क्रम नरोकिएको सशस्त्र प्रहरीका डीएसपी डम्मरबहादुर विष्टले बताए । सीमामा सशस्त्र खटिएसँगै दुईवटा ट्युब पनि नियन्त्रणमा लिएको छ । अहिले लेकमको लालीबाट व्याससम्मका १० ठाउँमा सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ ।
ट्युबमार्फत नेपाल आउने व्यक्तिले एक हजार ६०० देखि दुई हजार ५ सय रूपैयाँसम्म तिर्ने गरेका छन् । भारतले लकडाउन खुकुलो गरेर गाडी चल्न दिएपछि दैनिक सयौँ व्यक्ति दार्चुलाका सीमापारि आउन थालेका छन् । अर्काको देशमा रोग र भोक दुवैको समस्या भएपछि जोखिम मोलेर स्वदेश फर्किएको मालिकार्जुनका खिमसिंह धामीले बताए । अझै नदी तर्न नसकेर पारिपट्टि थुप्रै मान्छे रोकिएको उनकाे भनाइ छ ।
अझै पनि सीमावर्ती क्षेत्रमा थुप्रै नेपाली स्वदेश फर्कने तयारीमा छन् । दार्चुलाको लाली, जौलजीवि, धार्चुला आसपासका क्षेत्रमा पनि स्वदेश फर्कनका लागि नेपाली सीमामा पुगेको र उनीहरुको रातिको समयमा स्वदेश फर्किने तयारी गरिरहेका छन् ।
सशस्त्र र नेपाल प्रहरी व्यासको छाङरू जाँदै
कालापानी हुँदै लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएर गत शुक्रबार उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र र नेपाली प्रहरीको टोली जाने भएको छ । बुधबार दार्चुलाको व्यास गाउँपालिका–१ छाङरू गागामा सीमा निगरानीका लागि सशस्त्र प्रहरी जान लागेको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म दार्चुलाले जनाएको छ । सशस्त्र प्रहरीको टोलीलाई सेनाको हेलिकोप्टरले छाङरू पुर्याउने छ ।

चार दिनअघि शुक्रबार भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुलेकसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि यसको सर्वत्र विरोध भइरहेको छ । दार्चुलाको व्यास गाउँपालिकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राख्न सशस्त्र इन्स्पेक्टरकाे कमाण्डरमा २५ सशस्त्र प्रहरी खटाइने जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका गुल्मपति सशस्त्र डीएसपी डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा टोली पठाउने तयारी गरिएको छ ।
टोलीका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामग्री तयारीमा गुल्मका टोली खटिएको उनले बताए । स्थानीय व्यक्तिको घर भाडामा लिएर बिओपी बस्ने तयारी छ । छाङरूमा ११० घरधुरी रहेको छ । सरकारले गत मङ्सिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको थियो ।
सशस्त्र प्रहरीले रिर्जभ गरेको हेलिकोप्टरमा नेपाल प्रहरी पनि सँगै पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो । नेपाल प्रहरी विगतमा पनि छाङरूको गागामा बस्दै आएको छ । सशस्त्र प्रहरीलाई व्यासमा बाह्रैमास राख्ने गरी बिओपी स्थापना गर्न लागिएको हो । हेलिकोप्टरमार्फत मेडिकल उपकरण, हातहतियार र जनशक्तिलाई पठाउने तयारी छ । समुद्री सतहबाट तीन हजार ६०० मिटर उचाइमा रहेको छाङरूमा बाह्रैमास सशस्त्र प्रहरीको उपस्थिति गराउने सरकारको तयारी छ । कालापानी चार हजार २०० मिटर उचाइ र त्यसभन्दा माथि लिपुलेक, लिम्पियाधुरा करिब पाँच हजार मिटरको उचाइमा पर्छ ।
भारतले नेपालको भूमि अतिक्रमण गरेको विषय पटक-पटक उठे पनि भारतीय सीमाको सबैभन्दा नजिकको विन्दुमा नेपाली सुरक्षाकर्मी तैनाथ गर्न लागेको हो । छाङरूबाट कालापानी १२ किलोमिटरको दूरीमा छ भने कौवाक्षेत्र छाङरूदेखि झण्डै पाँच किलोमिटरको दूरीमा पर्छ । यस्तै छाङरूबाट लिपुलेक १७ किलोमिटरको दूरीमा छ ।
गत फागुन पहिलो साता नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सशस्त्र प्रहरीको बीओपीस्थलको हवाई निरीक्षण गरेका थिए भने गत चैत पहिलो साता सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वार्टर दार्चुलाका डीएसपी डम्मरबहादुर विष्ट नेतृत्वको टोली स्थलगत निरीक्षण गरेकाे थियाे ।
सशस्त्र प्रहरीको छाङरूको गागामा रहे पनि अहिले नेपालीको पहुँच रहेको कौवा क्षेत्रसम्म नियमित एलआरपी गस्ती हुन सक्नेछ । व्यासको छाङरू गागामा सशस्त्र प्रहरीको बीओपी राख्न स्थानीयवासीले जमिनसमेत उपलब्ध गराएका छन् । स्थानीयले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमिन सशस्त्र प्रहरीलाई दिइसकेको छ भने सरकारले व्यासमा बीओपी स्थापना र निर्माणका लागि ११ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।
यस्तै सशस्त्र प्रहरी पुर्याउने हेलिकोप्टरमा नौ जना नेपाल प्रहरी पनि जाने भएका छन् । छाङरूमा रहने नेपाल प्रहरीलाई हेलिकोप्टरमार्फत पठाइन लागेको हो । नेपाल प्रहरीका सई हर्कसिंह महताको नेतृत्वमा टोली खटाउन लागिएको हो ।
अहिले व्यास गाउँपालिका- १ छाङरू र तिंकर रहेका प्रहरी व्यास गाउँपालिका- २ दुम्लिङमा सारिएको छ । सशस्त्र प्रहरी हेलिकोप्टरमार्फत जाने भएपछि गागामै रहेको नेपाल प्रहरीलाई सशस्त्रसँगै पठाइन लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी पदमबहादुर विष्टले बताए । तिंकर क्षेत्रको प्रहरी भने बाटो खुलेपछि पठाउने तयारीमा रहेको बताइएको छ । (रासस)
प्रकाशित समय १४:०५ बजे

















