गृहपृष्ठ भारतबाट भित्रिएकालाई सिधै स्थानीय तह पठाउने प्रदेश सरकारको तयारी

भारतबाट भित्रिएकालाई सिधै स्थानीय तह पठाउने प्रदेश सरकारको तयारी

कर्णाली प्रदेश सरकारले भारतबाट भित्रिएका नागरिकलाई सिधै स्थानीय तह पठाउने तयारी गरेको छ । क्वारेन्टाइनमा नराखेरै प्रदेशको सीमा नाकामा आरडिटी परीक्षण गरी सिधै स्थानीय तहमा पठाउने तयारी सरकारले गरेको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

‘भारतबाट लकडाउनको समयमा करिब २० हजार कर्णालीबासी भित्रिने आँकलन कर्णाली प्रदेश सरकारले गरेको छ,’ उनले भने, ‘धेरै नागरिक भारतबाट प्रवेश गर्नसक्ने भएकोले उनीहरुलाई स्थानिय तहको जिम्मा लगाउने तयारी गरिएको हो ।’

भारतले रेल सेवा सुचारु गरेसँगै कर्णाली प्रदेशलगायत देशभरका नागरिक नेपाल–भारत सीमासम्म आउने क्रम बढेपछि कर्णाली सरकारले आफ्ना करिब २० हजार नागरिक प्रदेश भित्रिन सक्ने आँकलन गरी त्यसको तयारी थालेको उनले बताए ।

‘सबै नागरिकलाई प्रदेश सरकारले जिम्मा लिएर कहाँ राख्ने भन्ने चिन्ता हुन्छ,’ उनले थपे, ‘त्यसैले स्थानीय तहको जिम्मा लगाउने तयारी गरेका छौं ।’ उनले स्थानीय तहले आ–आफ्ना नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने बताए । भारतबाट प्रवेश गरेका नागरिकहरुलाई सुरक्षाकर्मीको स्कटिङ्ग गरेर स्थानीय तहसम्म पु¥याउने तयारीसमेत सरकारले गरेको उनले बताए ।

भारतको रेलसेवा सुचारु भएसँगै पहिलो चरणमा नेपाल प्रवेश गरेका कर्णालीका २३६ जना नागरिकको बाँकेमा आरडिटी परीक्षण हुँदै गरको उनले बताए । उनीहरुलाई सिधै स्थानीय तहमा पठाउने तयारी आफूहरुको भएको मन्त्री भण्डारीले बताए ।

प्रदेश ५ मा र कर्णाली प्रदेशको सिमानाका बबईमा रिसेप्सन गृहको तयारी सरकारले गरेको उनले बताए । सीमा नाकामा क्वारेन्टाइन बनाउने सरकारको तयारी नभएको भन्दै मन्त्री भण्डारीले आफ्ना नागरिकलाई प्रदेश भित्र्याउने प्रक्रिया पूरा नहुँदासम्मको लागि बस्ने व्यवस्थाको लागि मात्रै रिसेप्सन गृह बनाउने तयारी भएको बताए । अबको केही हप्ता मै बबईमा रिसेप्सन गृह बनाउने उनले जानकारी दिए ।

प्रकाशित समय १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु