गृहपृष्ठ बाँकेको क्वारेन्टाइनमा मृत्यु प्रकरणबारे कांग्रेसको ७ प्रश्न : व्यक्ति जिम्मेवार कि सरकार ?
बाँकेको क्वारेन्टाइनमा मृत्यु प्रकरणबारे कांग्रेसको ७ प्रश्न : व्यक्ति जिम्मेवार कि सरकार ?
जवाफमा होइन जवाफदेहीतामा भूमिका बढाउ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाँकेको क्वारेन्टाइनमा एक युवकको कोरोनाका कारण भएको मृत्युले केही गम्भीर प्रश्न उब्जाएको उल्लेख गरेको छ । विश्वव्यापी रूपमा लाखौंको मृत्यु भइरहेका बेला ती युवकको मृत्युलाई सरकारले ‘केवल एक थान मृत्यु’का रूपमा मात्र बुझेको कांग्रेसको आरोप छ ।
ती युवकको मृत्युपछिल्तिर रहेका गम्भीर प्रश्नहरुलाई नजरअन्दाज गरियो भने कोरोनासँगको संघर्षका हाम्रा आगामी दिनहरू झनै विकट हुने कांग्रेसको ठहर छ । युवकको मृत्युसँग गाँसिएका विषयमा कांग्रेसले सरकारसमक्ष ७ प्रश्न गरेको छ ।
(१) ती युवकले अघिल्लो दिनदेखि नै पटक-पटक वान्ता गरेको, सास फेर्न कठिनाइ भएको, ज्वरो आएको विवरण थाहा हुँदाहुँदै क्वारेन्टाइनमा नियमित निगरानी राख्नुपर्ने राज्यले तिनलाई अघिल्लो दिन नै अस्पताल पुर्याउनु पर्ने सामान्य दायित्व पनि किन निर्वाह गरेन ?
(२) क्वारेन्टाइनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राति एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन ?
(३) एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोविज्ञानको भूमिका हो भने अत्यावश्यक सुरक्षा सामग्री र जरुरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरुलाई किन सजग र सतर्क अवस्थामा राख्न सकिएन ? देशभरनै यो समस्या किन निरन्तर देखिएको छ ?
(४) आइतबार बिहान ७.०० बज्नुअघि उनको मृत्यु भएपछि उनको लास क्वारेन्टाइन बनाइएको विद्यालयको चौरमा अलपत्र स्थितिमा किन दिनभर राखियो ? अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित व्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन् ?
(५) लास उठाउन परीक्षण रिपोर्टको प्रतीक्षा गरिएको हो भने, सम्भव भएसम्म चाँडो रिपोर्ट तयार गर्न उचित समन्वय किन गरिएन ? विशेष परिस्थितिमा चिकित्सक र प्रयोगशालाबीच समन्वय गरेर एउटा मात्रै नमूनालाई प्राथमिकता साथ परीक्षण गर्दा म्यानुएल आरएनए निकाल्न करिब एक घण्टा, पीसीआर उपकरणमा परिक्षण गर्न दुई घण्टा लाग्ने प्राविधिक स्थिति ज्ञात हुँदाहुँदै अघिल्लो दिन संकलन गरिएको उनको स्वाबको परिक्षण त्यही ढंगले समयमै गर्ने/गराउने व्यवस्थापकीय समन्वय र तदारुकता किन प्रस्तुत भएन ?
(६) नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दासम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थितिदेखि परिक्षण ढिलाइसम्म र स्वास्थ सामग्री अभावदेखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजन सम्ममा प्राय धेरै ठाउँमा गम्भीर लापरबाही रहेकोे बिचित्रताले आगामी दिनको कस्तो चित्रको संकेत गर्दैछ ?
(७) श्रीमती तथा अवोध छोरीछोराले परबाट लास हेर्दै दिनभर रोएको कारुणिक चित्रले राज्यसत्ताको जिम्मेवारीमा रहेकाहरुलाई आफ्नो कर्तव्यप्रति गम्भीर बन्ने गरी केही चेत आएको छ कि बाँकेको घटनालाई केवल एक दुःखद कथाका रूपमा विस्मृतिमा धकेल्ने ?
उल्लिखित प्रश्नसँगै कांग्रेसले विज्ञप्तमा भनेको छ, ‘एउटा मात्रै जीवन गुम्नु पनि सम्बन्धितको सतप्रतिशत गुम्नु हो, अनि परिवारजनले भोग्ने अपुरणीय क्षति । ती युवकको आत्माले शान्ति प्राप्त गरोस् भन्ने हाम्रा कामनाहरु तब सार्थक हुनेछन् जब उनको मृत्युसँग सम्बन्धित प्रश्नहरुको गहिरो समीक्षा गरेर सरकार आत्मआलोचित हुनेछ र यो घटनापश्चात् कोरोना विरुद्धको संघर्षमा लड्न युद्धस्तरीय व्यवस्थापन गर्ने तयारीमा लाग्नेछ ।’
कांग्रेसले बाँकेको क्वारेन्टाइनमा भएको युवकको मृत्युको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएकाे छ । सो घटनाबाट शिक्षा लिँदै गम्भीर भएर कार्य गर्न सरकारलाई आग्रह गर्दै नागरिकको अमूल्य जीवनप्रति खेलवाड नगर्न कांग्रेसले चेतावनी दिएको छ ।
प्रकाशित समय १८:५४ बजे

















