गृहपृष्ठ सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारीको रकम सरकारी कोषबाटै मिलान गरिने

सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारीको रकम सरकारी कोषबाटै मिलान गरिने

सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध मजदुर तथा कर्मचारीको कोषमा तिर्नुपर्ने योगदन रकम सरकारी कोषबाट मिलान गर्ने भएको छ । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिनेछ । यस प्रणालीमा आबद्ध सबै श्रमिकहरूको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिनेछ ।’

प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाको दायरा फराकिलो पारिने पनि बताए । त्यस्तै अपांगता भएका व्यक्ति वा एकल महिला कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्तामा कटौती नहुने भएको छ । उनले भने, ‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा भरथेग गरौँ भन्ने मान्यतामा सरकार दृढ छ ।’ स्थापनाकालदेखि नै सामाजिक सुरक्षा कार्यक्रमलाई विशेष प्राथमिकता दिएको सरकारले यसलाई नयाँ युगको सुरुवात भन्दै आएको छ ।

सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत मजदुर र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराउने बताइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बताएकी हुन् ।

सरकारले पहिलो चरणमा औपचारिक क्षेत्रका श्रमिकलाई समावेश गर्ने गरी सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । पहिलो चरणको कार्यक्रममा सफलता पाउँदै गएपछि असंगठित र वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा मजदुरलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीति लिइएको हो ।

यसअघि सरकारले कोरोनाभाइरस संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण समस्यामा परेका रोजगारदाता र योगदानकर्ताको चैतको सबै रकम व्यहोर्ने निर्णय गरेको थियो । चैत १६ गतेको घोषणाअनुसार सरकारले वैशाख ५ गते कोषमा आबद्ध रोजगारदाता कम्पनी र तिनमा कार्यरत श्रमिक तथा कर्मचारीको ३१ प्रतिशतबराबर हुने करिब १८ करोड ६७ हजार रुपैयाँ राहतस्वरुप तिरिदिएको थियो । जसबाट कोषमा आबद्ध ८६१ रोजगारदाता कम्पनी र ती कम्पनीमा कार्यरत ३३ हजार ३२७ श्रमिक र कर्मचारी लाभान्वित भएका थिए ।

रोजगारदाता कम्पनीले सरकारबाट १२ करोड र श्रमिक तथा कर्मचारीले करिब ६ करोड ६७ हजार राहत पाए । कोषमा श्रमिक र कर्मचारीको न्यूनतम मासिक तलबबाट ११ प्रतिशत, रोजगारदाताका तर्फबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम हरेक महिना जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ । लकडाउन लम्बिँदै गएपछि सरकारले वैशाख र जेठमा योगदानकर्ता र श्रमिकले जम्मा गर्नुपर्ने रकम असार मसान्तसम्म तिर्दा हुने व्यवस्था गरेकोमा सोमबारको प्रधानमन्त्रीको सम्बोधनसँगै रोजगारदाता र योगदानकर्ताले करिब ३७ करोड रूपैयाँ राहत पाउने भएका छन् ।

यो पनि पढ्नुहोस्

नियन्त्रणको सीमाभित्र रहने उद्योगलाई सञ्चालनको अनुमति दिइने (सम्बोधनका पूर्ण पाठसहित)

संकटका बेला सामाजिक सुरक्षा कोषको साथ

प्रकाशित समय १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु