गृहपृष्ठ कर्णालीका ८ सार्वजनिक बिदा, जुम्लाको धान दिवस चैतमा
कर्णालीका ८ सार्वजनिक बिदा, जुम्लाको धान दिवस चैतमा
सेना परिचालनका लागि संघीय सरकारलाई अनुरोध
कर्णाली प्रदेश सरकारले २०७७ सालभरी आठवटा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
असार १५ गते कर्णालीका ९ जिल्लामा धान दिवस र जुम्लामा भने चैत्र १२ गते धान दिवस मनाउने निर्णय बैठकले गरेको हो । त्यस्तै साउन १ गते साउने संक्रान्ति र देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, असोज कृष्ण त्रयोदशी जुम्लाको चन्दननाथ मन्दिरको लिंगो बोक्ने दिन जुम्ला जिल्लामात्रै बिदा दिने निर्णय बैठकले गरेको हो । बैठकको निर्णयअनुसार माघ १ गते माघे संक्रान्ति, चैते दशै चैत्र शुक्ल अष्टमी र फोत्तोलो ल्होसार तिथिअनुसार सम्बन्धित समुदायको लागि मात्रै सार्वजनिक हुने भएको छ ।
विधेयक पेश गर्न स्वीकृति
बैठकबाट पूर्वाधार विशेष कार्यक्रमको लागि कर्णाली प्रदेश विनियोजन ऐन २०७६ दफा ९ बमोजिम बजेट कार्यान्वयन सहजताको लागि आदेश जारी गर्ने, कर्णाली प्रदेश विनियोजन विधेयक २०७७ का सिद्धान्त, प्राथमिकता र उद्देश्य तथा प्रमुख नीतिहरु प्रदेशसभामा पेश गर्न स्वीकृत गर्ने, प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकति प्रदान गर्ने, कर्णाली प्रदेशमा व्यापार व्यवसायको दर्ता तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारकी प्रवक्ता बिमला केसीले जानकारी दिइन् ।
सेना परिचालनका लागि अनुरोध
उनका अनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतबाट अत्याधिक संख्यामा नागरिकहरु भित्रिने क्रम बढेपछि उद्धार र क्वारेन्टिनको व्यवस्थाको लागि नेपाली सेना परिचाल गर्नुपर्ने भएकोले सोको व्यवस्थाको लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय बैठकले गरेको हो ।
प्रकाशित समय १७:११ बजे

















