गृहपृष्ठ अबको दुई महिनामै रानीपोखरी पुनर्निर्माण

अबको दुई महिनामै रानीपोखरी पुनर्निर्माण

फाइल तस्बिर

अबको दुई महिनाभित्र सक्ने गरी ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण तीव्र रुपमा अघि बढेको छ । वैशाखमा नै सक्ने गरी काम अघि बढिरहे पनि विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड १९)का कारण देश पू रुपमा ठप्प भएपछि चैतदेखि काम अघि बढ्न सकेको थिएन ।

लामो समयपछि जेठको पहिलो सातादेखि नै निर्माणको काम केही सुरु गरिए पनि कामदार अभावमा काम हुन सकेको थिएन । सरकारले केही दिनयता घरबन्दी खुकुलो बनाएपछि अहिले निर्माणको कामले गति लिएको राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले जनाएको छ ।

अहिले रानीपोखरीको पुनर्निर्माणको कामअन्तर्गत पोखरीमा माटो लगाउने काम सकिएको छ भने बालगोपालेश्वर मन्दिरको काम भइरहेको छ । हालसम्म पोखरीको ७५ प्रतिशत काम सकिएको प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए ।

उनका अनुसार हाल ३२ कामदारले दैनिक काम गरिरहेका छन् । सहज भएसँगै थप कामदार ल्याउने तयारी भएको छ । पोखरीमा कस्तो र कहाँबाट पानी राख्ने विषयमा भने छलफल भइरहेको मानन्धरले जानकारी दिए ।

२०७२ वैशाख १२ को महाभूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काममा तीन वर्ष ढिलाइ भएकोमा पुनर्निर्माण प्राधिकरणले जिम्मा पाएपछि गति लिएको हो । कोरोनाभाइरसका कारण केही समय ढिला भए पनि अबको केही महिनाभित्र पोखरी पुनर्निर्माणले पूर्णता पाउने प्राधिकरणले जनाएको छ ।

सुरुमा काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनर्निर्माणको काम अघि बढ्न सकेको थिएन । मन्त्रिपरिषद्को २०७५ माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रका पुरातात्विक संरचनाको पुनर्निर्माण गर्ने गरी प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।

मन्दिर पुरानै शैली (ग्रन्थकूट/शिखर) शैलीमा पुनर्निर्माण गर्न गत वर्ष असार २४ गते प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको दिनदेखि १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सेयर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ ।

गोरखा भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको सम्पदा पुनर्निर्माणको सुरुवात रानीपोखरीबाटै गरेकी थिइन् । रानीपोखरी पुनर्निर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत नौ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । पोखरी र मन्दिर निर्माणका लागि २५ करोड बजेट विनियोजन भएको छ । चन्द्रशमशेरको पालामा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ । मन्दिरको उचाइ ५३ फिटको हुनेछ ।

राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन पाँच वर्ष लगाएर १७२५ सालमा ‘न्हु पुखु’को निर्माण गराई १७२७ मा शिलापत्र राखेका थिए । पोखरीमा गोसाइँकुण्डलगायत नेपाल र भारतका १०८ विभिन्न तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । त्यसअनुसार उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना भएको थियो । (रासस)

प्रकाशित समय १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु