गृहपृष्ठ हराएका ३० वटा मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई जिम्मा

हराएका ३० वटा मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई जिम्मा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका ३० वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाबाट सादा पोसाकमा खटाइएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु लकडाउनको समयमा पनि खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

उपत्यकाका म्हैपी, बालकोट, किर्तिपुर, ठमेल, सिनामंगल, बसुन्धारा, नयाँ बजार, बानियाटार, चोभार, कपन, बुढानिलकष्ठ, गोकर्णेश्वकर,ठमेल,कुमारीपाटी,नयाँ बसपार्क, केशरमहल, न्यूरोड, टोखा, पुरानो बानेश्वर, ठमेल, ट्रामा सेन्टर, न्युरोड, महाराजगंज, नयाँबस्ती, किर्तिपुर, पशुपती पार्किङ, मण्डिकाटार, भिमसेनगोला र चाबहिल लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी बुधबार सम्बन्धित धनीलाई महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालले जिम्मा लगाएका हुन् ।

‘पार्किङ स्थल, समारोह, अस्पताललगायत एकान्त ठाउँको पार्किङ स्थल, घरको कम्पाउण्ड तथा गेटबाहिर, लामो समयसम्म पार्किङ गरिने स्थानहरुमा असुरक्षित पार्किङ गरेर, अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ गरेको भनी लापार्वाही गरेर मोटरसाइकल बढी चोरी हुन्छन्,’ एसएसपी ढकालले भने ।

सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ गरेको भनी ढुक्क नपर्न, एकै छिन हो भनी अतिरिक्त लक लगाउन अल्छी नगर्न एसएसपी ढकालको सुझाव छ ।

महाशाखाले यस आर्थिक वर्ष २०७६/०७७ मा मात्रै चोरी भएका ३०८ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने ३६ जना व्यक्तिलाई चोरीमा संलग्न भएको कसुरमा पक्राउ गरी आवश्यक कारावाही गरिसकेको छ ।

प्रकाशित समय १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु