गृहपृष्ठ निर्वाचन प्रणालीबाट नेतृत्व पाउँदै संसदीय समिति

निर्वाचन प्रणालीबाट नेतृत्व पाउँदै संसदीय समिति

कर्णाली प्रदेशसभाका संसदीय समितिहरुले निर्वाचन प्रणालीबाट नेतृत्व पाउने भएका छन् । यसअघि लामो समयदेखि जेष्ठताको आधारमा तोकिएका अध्यक्षले संसदीय समितिको अध्यक्षता गर्दैआएका थिए ।

आगामी असार २८ गते दिउँसो १ बजे अध्यक्षहरुको निर्वाचन हुनेगरी बिहिबार कर्णाली प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरेको छ । कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १४८ अनुसार समितिको अध्यक्ष पदको निर्वाचन गर्न लागिएको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १४८ को उपनियम ३ सँग सम्बन्धित अनुसूची ४ बमोजिमको ढाँचामा एकजना प्रस्तावक र एकजना समर्थक राखी समितिको अध्यक्ष पदको उम्मेदवारको मनोनयन पत्र र मन्जुरीको निस्सा असार २७ गते ५ बजेसम्म प्रदेशसभा सचिवसमक्ष बुझाई सक्नुपर्नेछ ।

हाल जेष्ठताको आधारमा अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्ष नेकपाका सांसद अम्मरबहादुर थापा, विधायन तथा प्रदेश मामिला समिति अध्यक्ष नेकपाका सांसद पदमबहादुर रोकाय, सामाजिक विकास समिति अध्यक्ष नेकपाका सांसद राजु नेपाली र सार्वजनिक लेखा समितिको अध्यक्ष नेपाली कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठले सम्हाल्दै आएका छन् ।

प्रकाशित समय १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु